Wednesday, December 2

संक्रमणबाट निको भइ घर फर्किएकाको उल्लेख्य संख्याले कोरोना त्रासमा ढाड्स दिदै !

August 9, 2020 151

काठमाडौं, २५ साउन । दिनानुदिन बढ्दो संक्रमितको संख्याले नेपाली समाजलाई नराम्रोसंग त्रसित पार्दै गर्दा स्वास्थ्यलाभ गरी फर्किएकाको उल्लेख्य संख्याले ढाडस पनि दिन थालेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा क्षमता, दक्षता र पूर्वाधारको अभावलाई लिएर प्रश्न उठने गर्दै आएपनि उल्लेख्यरुपमा संक्रमितहरु निको भएर घर फर्किन थालेपछि सकारात्मक सूचक स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेका छन् ।

विश्वका २ सय १५ मुलुकमा कोरोनाको प्रभावले जरो गाडीसक्दा नेपाल अहिले ६६ औं स्थानमा छ । तर नेपालमा निको भएर घर फर्किनेहरुको संख्या हरेक दिन बढ्दो छ । आइतबार अपरान्हसम्म नेपालका कुल १६ हजार ३ सय ५३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

र, यो कुल संक्रमितमा ७१ दशमलव १ प्रतिशत हो । यो सार्क मुलुकमा मात्र नभएर अन्य प्रविधिसम्पन्न विकसित मुलुकको तुलनामा धेरै सकारात्मक परिणाम हो । सार्क मुलुकका तथ्यांक पल्टाउने हो भने झण्डै ७० प्रतिशत संक्रमित निको भएका छन् भने भारतमा लगभग ६९ प्रतिशत र अमेरिकामा लगभग ५२ प्रतिशतले कोरोनालाई जितेका छन् ।

नेपालमा बढी जसो युवाहरुमा संक्रमण देखिनु र मृत्यु हुने पनि संक्रमित हुन अघि बिभिन्न रोगको शिकार भएको कारणले गर्दा नेपालमा कोरोना संक्रमणमाथि विजय पाउनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

यता संक्रमणबाट निको भएकाहरुले पनि नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य र आशलाग्दो सुधार भएको उल्लेख गरेका छन् । अस्पतालमा उपलब्ध गराइएको वातावरण र दृढ आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको उनीहरुको अनुभव छ ।

हुनत कोरोना भाइरस नेपालमा थोपरिएको आयातित संंक्रमण नै हो । विदेशबाट र खुला सीमानाबाट भित्रिएको यो संक्रमणले अहिले नेपाललाई गाँजेपनि देशभरका क्वारेन्टाइनहरु विस्तारै रित्तिदो छन् ।

पछिल्लो समय लापरवाही, खुला आवागमन,सार्वजनिक गतिविधि बढनु, जात्रा तथा चाडपर्वको आगमन र स्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्डमाथि हेक्का नराख्दा संक्रमणको जोखिम भने बढ्दो अवस्थामा छ । यो अवस्थालाई नियन्त्रणमा राख्न सके नेपालले कोरोनामाथि जीत हात पार्न लामो समय कुर्नु नपर्ने पक्का छ ।

प्रतिकृया दिनुहोस्