Tuesday, December 1

पार्टी फुट्न नदिन नेकपाका सांसदद्वारा नेतृत्वलाई दबाब, दुर्भाग्यपूर्ण कदम नचाल्न चेतावनी

August 9, 2020 92

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरुले पार्टी फुटन नदिने प्रतिवद्धता जनाउँदै हस्ताक्षर संकलन गरेका छन् ।

नेकपाका सांसदले आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरी पार्टी फुट्नु कुनै हालतमा उचित नभएको बताउँदै हस्ताक्षर संकलन अभियान चलाएका हुन् ।

पार्टी भित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभई एकताको पक्षमा उभिएको भन्दै ६१ सांसदले हस्ताक्षर गरेका हुन् ।

सांसदहरुले आफुहरु तीन वटै नेतालाई भेटन जाने नभई तीन वटै नेताहरुलाई भेटन आउने बनाउने बताएका छन् । सांसदहरुको हस्ताक्षरलाई विशेष अधिवेशन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्न समेत आग्रह गरिएको छ ।

उनीहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण कदम नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गरेका छन् । विचार धारा, वैचारिक र संगठनात्मक हिसाबले सुदृढ कम्युनिष्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो कि पार्टीलाई टुटफुट र ध्वंस गरेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् ।

हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्री बाहेकका संघीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पस्ट पारेका छन् ।

कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाई गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिकृया दिनुहोस्