Saturday, November 28

अस्पतालमा वेड अभाव हुँदा सुनसरीमा संक्रमित राख्न विकल्प खोजिदै

August 8, 2020 82

इनरुवा , २४ साउन । कोभिड अस्पतालहरुमा संक्रमित राख्न वेड अभाव हुन थालेपछि सुनसरीमा त्यसको विकल्प खोज्न थालिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई राख्न सुनसरीमा खाली भवनको खोजी गर्न थालिएको छ ।

वेड अभावका कारण संक्रमितले होम आइसोलेसनमै बस्नु पर्ने अवस्था देखिएपछि पोजेटिभ पाइएका व्यक्तिहरुको उचित व्यवस्थापनका लागि विकल्प खोज्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमित राख्ने वैकल्पिक व्यवस्थामा जुटेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले खाली रहेका क्वारेन्टाइन र भवनहरु खोजी कार्य जारी रहेको बताउनुभयो ।

उता स्वास्थ्य कार्यालय सुनसरीले संक्रमितलाई सुरक्षित साथ राख्नको लागि अस्पताल र होम आइसोलेसनको विकल्प तयार पार्न सरोकारवालाहरुबीच समन्वय र सहकार्यको खाँचो औल्याएको छ । कार्यालय प्रमुख सागर प्रसाईले अस्पतालहरुमा वेड अभाव र होम आइसोलेसन जोखिम पूर्ण हुने सम्भावना रहने हुँदा संक्रमित राख्न छुट्टै व्यवस्था मिलाउन आवश्यक रहेको बताउनु भयो ।

प्रसाईले हरिनगरमा रहेको भुटाहा जेनरल हस्पिटल आइसोलेसन वार्डका लागि उपयुक्त रहेको बताउनु भएको छ । सो विषयमा सुनसरी प्रशासनलाई समेत आफुले जानकारी गराएको प्रसाईको भनाइ छ । भुटाहाको जेनरल हस्पिटल केहि वर्ष पहिला अस्पताल सञ्चालन गरिएको भवन हो । जहाँ वेडसहित खानेपानीका साथै शौचालय जस्ता पर्याप्त संरचना रहेकाले समेत उक्त भवन उपयुक्त रहने स्वास्थ्य कार्यालयको ठम्याई छ ।

हाल क्वारेन्टाइनका रुपमा प्रयोगमा रहेको सो भवनलाई कोभिड १९ को मापदण्ड अनुसार व्यवस्थापन गरी आइसोलेसन कक्षका रुपमा संक्रमितलाई राख्नका लागि प्रयोगमा ल्याउन सकिने कार्यालयले जनाएको छ ।

उक्त भवनमा १ सय वेडको क्वारेन्टिन सञ्चालनमा छ । गाउँपालिकाले २ सय बढीलाई व्यवस्थित साथ राख्न सकिने यस अघिनै बताई सकेको छ । जिल्लामा संक्रमितको संख्या थपिदै जाँदा सुनसरी प्रशासनले जिल्लालाई निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्