Sunday, December 6

प्रदेश १ मा ६१ जना नयाँ संक्रमित थपिए, पहुँचवालाहरुको मात्र रिपोर्ट चाँडो आउने गरेको गुनासो तीब्र

August 8, 2020 119

विराटनगर, २४ साउन । प्रदेश १ मा शनिबार ६१ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । मोरंगका ४८ जना, सुनसरीका १० जना र ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।

मोरंगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा शनिबार सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २१ गते स्वाब दिएको तर, हालसम्म पनि रिर्पोट नआएको तर, पहुँचवालाहरुको भने अगाडिनै रिपोर्ट आउने गरेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।

४ दिन अगाडि स्वाब दिएका दुई जना पत्रकारको अझै रिपोर्ट आएको छैन । उनीहरु भन्छन, ‘हामी भन्दा पछाडि दिएकाहरुको पोजेटिभ आएको छ । सँगै काम गर्ने साथीहरुले आफूलाई शंका लागेपछि आफैले स्वाब दिएका हौं, तर हाम्रो अझै आएको छैन ।’

उनीहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु जस्ता धेरै छन् । स्वाब दिएर रिपोर्टको पर्खाइमा बसेका, सामान्यतय लक्षण नदेखिएकाहरु भने बाहिर घुमेका हुन्छन् । जसले गर्दा समूदायमा कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्