चितवन, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेकाे भनिएकाे भगवान रामकाे जन्मभूमि अयोध्यापुरीकाे अध्ययन, उत्खननका काम अगाडि बढाउन निर्देशन दिनुभएकाे छ । शुक्रबार माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै प्रधानमन्त्रीले अयोध्यापुरीको अध्ययन अगाडि बढाउन निर्देशन दिनुभएकाे हाे ।
वडाध्यक्ष सुवेदीले ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ?’ भन्दै प्रधानमन्त्रीले टेलिफाेनमा चासाे राख्नुभएकाे बताउनुभयाे । उहाँले प्रधानमन्त्रीकाे भनाइ उद्धृत गर्दै भन्नुभयाे, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो ।’
प्रधानमन्त्री अाेलीले अयोध्यापुरीका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर रहेकाे वडाध्यक्ष सुवेदीकाे भनाइ छ । उहाँले प्रधानमन्त्रीले राम जन्मस्थल अयोध्या नेपालमै रहेकाे बारे यथेष्ट प्रमाण रहेकाे विश्वास समेत दिलाउनुभएकाे बताउनुभयाे । सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको र अन्य अध्ययनले पनि बलियाे सम्भावना देखाएकाे प्रधानमन्त्रीकाे विश्वास छ ।
माडीमा रहेका पुराना धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध समेत गर्दै प्रधानमन्त्री ओलीले आगामी रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री ओलीले अाज शनिबार माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट्न बालुवाटारमै बोलाउनभएकाे माडी नगरपालिका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयाे । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोलीले प्रधानमन्त्रीलाई भेट्नेछ ।
प्रतिकृया दिनुहोस्