Friday, November 27

कोरोना संक्रमणका कारण मृत्यु हुनेका संख्या बढ्दै, पाटन अस्पतालमा उपचाररत थप दुईको मृत्यु

August 7, 2020 145

ललितपुर , २३ साउन । कोरोना भाइरस संक्रमणको मृत्यु हुनेको संख्या दिनानुदिन थपिदो छ । आज मात्र काठमाडौं उपत्यकामा २ जनाको मृत्यु भएको छ । दुबै जना संक्रमितको मृत्यु ललितपुरको पाटन अस्पतालमा भएको हो ।

पाटन अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको ललितपुरका जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले न्यूज २४ लाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्लाहीका ४५ बर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गत साउन १९ गते अस्पतालमा भर्ना भएका उनको आज विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
उनीमा मेनेन्जाइटीस र रेबिजको समस्या पनि रहेको पनि डाक्टर गेलालले जानकारी दिनुभयो । उनीमा उपचारको क्रममा नै कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

यसैगरी ४१ बर्षीया रुपन्देही सुनवलको पनि आज विहान ११ बजे मृत्यु भएको छ । उपचारका लागि पाटन अस्पतालमा विगत साउन १९ गते भर्ना भएका उनीमा निमोनियाका साथै कोरोना संक्रमण देखिएको थियो ।

यसअघि बिहीबार राति पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए ।

उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्