Saturday, June 19

फुलन्देकी आमाका रूपमा ‘हिट’ भएका पुरुष को हुन ?

March 7, 2021 270

काठमाडौँ । दर्शकका नजरमा उनी महिला हुन्। उनलाई धेरैले आमाका रूपमा चिन्छन्, फुलन्देकी आमा। वास्तविक जीवनमा उनी पुरुष हुन्।पर्दाभित्रकी फुलन्देकी आमाको बाहिरी नाम उमेश राई हो। फुलन्देकी आमा ‘मुन्द्रेको कमेडी क्लब’ को एक पात्र हो। कार्यक्रममा लिम्बू समुदायको विशेष पहिरनमा सजिने फुलन्देकी आमाले अतिथि र दर्शकसँग गर्ने अनौपचारिक कुराकानी निकै रुचाइएको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ मनोरञ्जनात्मक कार्यक्रम हो। जितु नेपाल (मुन्द्रे) को सञ्चालन र दीपाश्री निरौलाको अध्यक्षतामा हुने यो कार्यक्रममा विभिन्न कलाकारहरू अतिथि बनेर आउँछन्। लकडाउनले कार्यक्रम सुटिङ र प्रसारण रोकिएको छ। पुराना श्रृंखला‍ ‘आमा अग्नि कुमारी मिडिया’ युट्युब च्यानलमा हेर्न सकिन्छ। उसो त फुलन्देकी आमा दर्शकले रुचाएका टेलिश्रृंखला र म्युजिक भिडिओका समेत पात्र हुन्। उमेश फुलन्देकी आमाका रूपमा तीन वर्षअघि पहिलोपटक धुर्मुस-सुन्तली युट्युब च्यानलमार्फत् प्रसारण हुने ‘गज्जब छ बा’ श्रृंखलामा देखिएका थिए।

छोटो समयमै मनोरञ्जन क्षेत्रमा चर्चा कमाउन सफल हुने श्रेय दर्शकलाई दिँदै उमेश भन्छन्, ‘दर्शकको समर्थनकै कारण यो स्थानमा पुग्न सफल छु।’सानै उमेरबाट ख्याल-ठट्टामा रमाउने उमेश आफै‌ंले सिर्जेका पात्र हुन्, फुलन्देकी आमा। यसको प्रेरणा भने ‘फुलन्देका बुवा’ हुन्। मौसम इङ्बुङ लिम्बूले फुलन्देका बुवा नामक पात्रमा रमाइला भिडिओ बनाउँथे। उमेश ती भिडिओ हेर्थे। आफूलाई पनि अभिनयमा रूचि भएकाले उनले सोचे, ‘फुलन्देका बुवा छन्, म आमा बनेर अभिनय गर्छु।’

अनि उमेश बने फुलन्देकी आमा।‍’महिलाको भेषमा फुलन्देकी आमा बनेर भिडिओ बनाउन थालेँ। रमाइलो लाग्दै गयो। फेसबुकमा पोष्ट पनि गर्थेँ,’ आफ्नो कला यात्रा फेसबुकका भित्ताबाट सुरू भएको उनी बताउँछन्, ‘ती भिडिओ‍ निकै सेयर हुन्थे। धेरैको प्रतिक्रिया आउँथ्यो। यस्तोमा कतैबाट सिताराम दाइ (कट्टेल) ले ती भिडिओ फेला पार्नु भएछ। अनि मलाई सम्पर्क गर्नुभयो।’

सीताराम कट्टेल (धुर्मुस) ले आफूलाई अभिनयका लागि प्रस्ताव राखेको सम्झँदै उनले भने, ‘मेरो अभिनयको कदर गर्दै उहाँले ‘गज्जब छ बा श्रृंखला’ का लागि प्रस्ताव राख्नुभयो। त्यो अवसर गुमाउनु थिएन, मैले स्वीकारेँ।’ त्यसपछि उमेशले केही भागमा अभिनय गरे। तर आन्तरिक समस्याले निरन्तरता दिन सकेनन्। उनको कला यात्रा भने रोकिएन। फुलन्देकी आमाको माग ‘मुन्द्रेको कमेडी क्लब’ मा पुग्यो। उमेशले निर्वाह गर्ने उक्त पात्रलाई दर्शकले त्यहाँ पनि रुचाए। तर प्रशंसकका भीडमा खुट्टा तान्नेहरू पनि हुने उनी बताउँछन्।

जुनसुकै काममा खुट्टा तान्ने प्रवृत्ति छँदैछ। एक-दुई जनाको नकारात्मक प्रतिक्रियाले मलाई फरक पार्दैन,’ नराम्रा टिप्पणी‍लाई उमेश प्रायः बेवास्ता गर्ने बताउँछन्। कमेडी क्लबसँगै उमेश महोत्सव र म्युजिक भिडिओमा पनि सक्रिय छन्। ‘फुलन्देकी आमा’ बोलको म्युजिक भिडिओले यो पात्रको ‍चरित्र बुझाउने उमेश बताउँछन्। यसबाहेक ‘बुढेसकालको लौरी’, ‘सोल्टिनी ज्यू’, ‘ओली बाको रेल’, ‘लेकैमा’ लगायत दर्जनौं म्युजिक भिडिओमा उमेश फुलन्देकी आमा बनेका छन्।

अभिनय तथा हास्य क्षेत्रमा आफूलाई स्थापित गर्न सफल उमेशले कहिल्यै मनोरञ्जन क्षेत्रमा लाग्छु भन्ने सोचेको चाहिँ थिएनन् रे। यो क्षेत्रमा भित्रिनुअघि उनले दुई वर्ष साउदीमा बिताएका थिए। त्यहाँ अस्पतालमा ‘स्टोर किपर’ को काम गर्थे।हामीले सोचेजस्तो हुँदैन रहेछ। समयमा तलब नदिने, खाने-बस्ने पनि व्यवस्थित थिएन। त्यसैले फर्किएँ,’ वैदेशिक रोजगारलाई आफैंले नियालेका उनी भन्छन्, ‘बरू नेपालमै क्षमता भए गर्न सकिन्छ। विदेशमा निकै कमले मात्रै राम्रो काम पाउँछन्। नभए यहाँभन्दा धेरै दुःख छ।’

साउदी हुँदादेखि नै उमेशले फुलन्देकी आमा बनेर सामाजिक सञ्जालमा सेयर गर्थे। यो क्रममा आफ्नो श्रृंगार आफैं गर्थे। गाजल-लाली लगाउन आउँछ रे। अहिले भने कार्यक्रमअनुसार मेक-अप गरिदिने कलाकार हुने उनी बताउँछन्। पुरुष भएर महिलाको स्वर निकाल्न मात्र होइन, सुरूका दिन कपडा र गहना सम्हाल्नसमेत मुश्किल परेको उनी सम्झन्छन्।

उनी भन्छन्, ‘सुरूसुरूमा त लुङ्गी सम्हाल्न, गहना अड्याउन गाह्रो हुन्थ्यो। हिँड्दा लामो पाइला चाल्न नमिल्ने। गर्मीमा बाक्लो लुगा सम्हाल्न उत्तिकै समस्या।’अहिले भने बानी परेको र फुलन्देकी आमा बन्दा नै बढी रमाइलो लाग्ने उमेश बताउँछन्। यसरी अभिनय गर्दा पर्ने मानसिक चापबारे सोध्दा उमेश महिलाको भेषमा अभिनय गर्ने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष कलाकारको उदाहरण दिँदै भन्छन्, ‘मैले जानेको कला देखाएको हुँ। जानेको कला प्रस्तुत गर्दा लाज मान्ने कुरा हुँदैन।

उमेश बेलाबेला क्यारिकेचर पनि गर्छन्। दर्शक रिझाउन सिपालू अनि हँसिला उनी अहिले भने केही निराश छन्। मञ्च र दर्शक मिस गर्दैछु। परिवारसँगै छु तर कामसँग जोडिएका सबैको याद आउने रहेछ,’ सुरूका दिन लकडाउन बिदाजस्तै लागे पनि अहिले काममा कहिले फर्किने होला भन्ने लाग्छ रे। दर्शकसँग जोडिन र आफूलाई व्यस्त राख्न उनी सामाजिक सञ्जालमा सक्रिय छन्। लकडाउनमै परिवार र साथीहरूसँग मिलेर छोटो पारिवारिक नाटकको भिडिओ बनाए। आफैंले निर्देशन गरेको उक्त भिडिओ उनको आधिकारिक युट्युब च्यानलमा छ।

अवस्था सामान्य हुँदो त उनी कुनै जिल्लाको महोत्सव, सुटिङ वा कार्यक्रममा व्यस्त हुन्थे। हिमालयन च्यानलबाट प्रसारण हुने ‘डान्सिङ विथ स्टार्स’ मा पनि फुलन्देकी आमा देखा पर्ने निधो थियो। लकडाउनकै कारण सबै रोकियो।’स्थिति सामान्य भएपछि थुप्रै काम गर्नुछ, अहिले मानसिक रूपमा तयार हुँदैछु,’ उनी आशावादी भने छन्।

उनी लकडाउन अगावै गृहजिल्ला इटहरी पुगेका थिए। तराईको उखरमाउलो गर्मीले सताएको छ उनलाई।’लकडाउन खुकुलो भए पनि गर्मीले जाँगर नचल्ने। दिनमा दुई-तीनपटक नुहाउँदै बस्छौं। छिमेकसँग पनि छत टु छत कुरा गर्छौं,’ उनी हाँस्दै भन्छन्। आफ्ना छरछिमेकसँग कुरा हुँदा सबैले आफ्नो कामको प्रशंसा गरेको उनको भनाइ छ। यसले उनलाई हौस्याएको छ।

कोरोना महामारी र लकडाउनले परिवारजनसँग नजिक्याए पनि उमेशलाई काम रोकिएसँगै आर्थिक चपेटामा परिने हो कि भन्ने पिरले सताउन थालेको छ। कामको प्रस्ताव आए पनि अवस्था कहिले सामान्य हुने हो, टुंगो छैन। सबैको मनमा अवस्था कहिले सामान्य होला भन्ने प्रश्न छ, तर जवाफ कोहीसँग छैन। त्यसैले अहिले धैर्य नै सबथोक मान्छु। सुरक्षा विधि अपनाएर चल्ने हो भने यो महामारीबाट छुटकारा पाउन समय नलाग्ला। सकारात्मक रहौं,’ उमेश अर्थात् फुलन्देकी आमा भन्छन्।

प्रतिकृया दिनुहोस्