Tuesday, December 1

नेपालमा कोरोनाबाट फेरी २३ वर्षिय युवकको मृत्यु

August 7, 2020 380

काठमाडौं-भुषको आगो सल्किए जसरी सल्किएको कोरोनाले धेरै संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या पनि नेपालमा बढ्दै गइरहेको छ । यसैबिच नेपालमा फेरी आज कोरोनाका कारण एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवक रहेका छन् ।

बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनको गएराती धरानमा निधन भएको हो । तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको उपचारका क्रममा ज्यान गएको हो । मृतक युवकको दाह संस्कार नेपाली सेनाले गर्ने भएको छ ।ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।

त्यस्तै । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

प्रतिकृया दिनुहोस्