Wednesday, December 2

प्रदेश २ : मुख्यमन्त्री कार्यालयलगायतका मन्त्रालयहरुको कामकाज ठप्प

August 6, 2020 109

जनकपुरधाम, २२ साउन । प्रदेश नम्बर २ का मन्त्री, सांसद र मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयलगायतका मन्त्रालयहरुको कामकाज ठप्प भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रीना यादव, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयको कामकाज बन्द गरिएको हो ।

आन्तरिक मामिला मन्त्रालयमा बुधबार मात्रै ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सामाजिक विकास मन्त्रालयका ४ जना र मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएपछि मन्त्रालयहरुको कामकाज बन्द गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मुल ढोकामै ताला लगाइएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा पनि बुधवार ताला लगाइएको छ ।

कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्रीहरुले आफ्नो निवासबाटै काम गरिरहेका जानकारी गराइएको छ । मधेस भवनको मुख्यद्वारमा खटिएका सुरक्षाकर्मीले सर्वसाधारणलाई भित्र प्रवेशमा रोक लगाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।

प्रतिकृया दिनुहोस्