Tuesday, December 1

न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिंदै, शनिबार रातिदेखि मनसुन सक्रिय हुने

August 6, 2020 129

काठमाडौं, २२ साउन । मनसुन सक्रिय गराउने न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिंदै गएको छ ।

हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिक हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय रेखा जति नेपाल नजिक भयो उति नै बढी बर्षाको सम्भावना हुने गर्छ ।

दिउँसो कम पानी पर्दा गर्मी बढेको छ । मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो । दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने बताइएको छ । तर शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न महाशाखाको सुझाव छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने र अन्य केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एक र दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्