Friday, November 27

नेपालमा पहिलोपटक एकै दिन कोरोनाले छ जनाको मृत्यु

August 6, 2020 1178

काठमाडौँ – नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँमा एक जना र सप्तरीमा एक जना संक्रमितको मृत्यु पुष्टि भएको हो । पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ ।

संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई जानकारी दिए । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए ।

कोशी अस्पताल विराटनगरका प्रवक्ता डा.लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो । उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो ।

काठमाडौँमा एकको मृत्यु

कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा-६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ति महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ति महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो।

निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।

सप्तरीमा एकको मृत्यु

मृत्युपछि सप्तरीको रुपनी गाउँपालिका-५ धुरगाउँका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजिटिभ आएको डाक्टर रणजीतकुमार झाले जानकारी दिए।

मलेसियाबाट एक महिना अघि आएर घरमा बसेका उनको मङ्गलबार राति मृत्यु भएपछि बुधबार दिउँसो स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। स्वासप्रश्वासमा समस्या आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो।

एक महिनादेखि घरमा बसिरहेका उनका मृत्यु भएपछि शोकमा डुबेको गाउँ अहिले रिपोर्ट पोजिटिभ आएपछि त्रासमा छ। योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि चार महिनापछि भारतको दिल्ली र दरभंगा बसेर घर आएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यापारीको मृत्यु भएको थियो।From etajakhabar

प्रतिकृया दिनुहोस्