Sunday, December 6

लेबनान बिस्फोट : बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, उद्धार कार्य जारी

August 6, 2020 140

एजेन्सी, २२ साउन । लेबनानको बेरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवास नजरबन्दमा राखिएको छ । बेरुतमा कम्तिमा पनि १ सय ३५ जनाको मृत्यु हुनुको साथै ४ हजारभन्दा बढी घाइते हुने गरी मंगलबार राति भएको बिस्फोटको घटनापछि बेरुत बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।

सूचनामन्त्री मनाल अब्देल समादले सन् २०१४ देखि नै उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको जनाएका छन् ।

बेरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनीहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए।

बेरुत बन्दरगाहमा असुरक्षित रुपमा गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट बिस्फोट हुँदा उक्त घटना भएको थियो । अमोनियम नाइट्रेट रासायनिक मल बनाउन तथा बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिन्छ ।

बेरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो। विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

प्रतिकृया दिनुहोस्