Tuesday, December 1

गृह मन्त्रालयले सार्वजनिक गर्यो काठमाण्डौ उपत्यकामा लागु हुने नयाँ नियम, अब के गर्न पाईन्छ के पाईदैन ?

August 6, 2020 319

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा सञ्चाल हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाई गर्दै सामुहिक भेला, भोज, सेमिनारमा कडाई गरेको हो ।

गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी काठमाडाै उपत्यका लगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ । सरकारले अघिल्लो बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो ।

गृहले सो निर्णयलाई कर्डाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै, दुई सयभन्दा बढी सङ्क्रमित पाइएका जिल्लामा समेत बेलुका ९ बजेदेखि विहान पाँच बजेसम्म आवागमन बन्द गरिने भएको छ । यस्तै, कोभिड–१९ को सङ्क्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोना परीक्षणको थप व्यवस्था गर्न समेत गृहले निर्देशन दिएको छ ।

सरकारले आवागमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई निषेध गर्ने निर्णय गरेको छ । त्यस्तै, होटल, रेष्टुरेन्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेलाजस्ता कार्यलाई समेत निषेध गरेको छ । गृहले जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गराउन समेत निर्देशन दिएको छ । मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना गर्नेसमेत जनाइएको छ

प्रतिकृया दिनुहोस्