Saturday, April 17

‘सीताराम’ अंकित ५ वटा चाँदीको ईंट्टा लिएर जानकी मन्दिर महन्थ दास अयोध्या प्रस्थान

August 5, 2020 127

जनकपुरधाम, २० साउन । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव अयोध्याका लागि प्रस्थान गरेका छन् ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागिता जनाउन निमन्त्रणा पठाएसँगै उनी अयोध्यातर्फ मंगलबार प्रस्थान गरेका हुन् ।

जानकी मन्दिरका महन्थ दासले उपहार स्वरुप ‘राम’ अंकित एक–एक किलोको ५ वटा चाँदीको ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् । उक्त चाँदीको ईटाहरुमा ‘श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल’ लेखिएको छ ।

उनले भने, ‘वर्षौंको प्रतिक्षापछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा खुसी भएको छु ।’

महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् । प्रदेश २ सरकारले उपलब्ध गराएको नेपाली नंबर प्लेटको गाडी चढेर महन्थ दास एक सहयोगीसहित तीन जनाको टोली लिएर अयोध्या प्रस्थान गरेका हुन् ।

भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माण कार्य अगाडि बढाउन लागिएको हो । मन्दिरको शिलन्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्