Tuesday, April 13

अब घुँडा टेक्नु पर्ने कुनै अवस्था छैन : प्रधानमन्त्री

February 6, 2021 51

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा आफूले घुँडा नटेक्ने बताएका छन् ।

चितवनमा शनिबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए । ‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन । कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन,’ ओलीले आग्रह गर्दै भने, ‘नेपालको स्वाभिमानलाई माथि उठाइन्छ साथीहरु ढुक्क हुनुस् ।’

देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने भन्दै उनले जनतालई धोका नदिनेसमेत बताए । ‘तपाईंहरुले धोका पाउनुहुन्‍न, देशको राष्ट्रियता रक्षा, राष्ट्रिय हितको रक्षा, स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, जमिनको रक्षा अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाई मैले गर्नेछु तपाई|हरु ढुक्क हुनुस्,’ प्रधानमन्त्रीको आग्रह थियो ।

केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको उनले बताए । ‘दाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुस् । देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छ’ उनले भने । आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको भन्दै उनले आत्मविश्वासका साथ अगाडि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्