Tuesday, December 1

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वडा अध्यक्ष रानाभाट पक्राउ

August 4, 2020 87

गोरखा, २० साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा ४७ वर्षीय एक वडाध्यक्ष पक्राउ परेका छन् । पालुङ्गटार नगरपालिका ४ का वडाअध्यक्ष ठाकुर कान्त रानाभाट आफ्नै वडाकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार साँझ पक्राउ परेका हुन ।

ती बालिकालाई उनले विगत दुई महिनादेखि यौन शोषण गर्दै आएको समेत आरोप लगाइएको छ । वडाध्यक्ष रानाभाटलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष टोलीले पालुङटार ४ बाटै पक्राउ गरेको हाे ।

उनले अन्तिम पटक गत शुक्रबार ती बालिकालाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘बिहे गर्छु भन्दै करिब २ महिनादेखि बालिकालाई यौन शोषण भइरहेको कुरा आएको छ’ एसपी सुरेन्द्र बहादुर गुरुङले भन्नुभयाे ‘हामी अनुसन्धानकै क्रममा छौँ, अहिले नै सबै कुरा भनिहाल्न मिल्दैन ।’

सोमबार दिउँसो करिब १ बजेतिर पीडित बालिकाका बाबुले जिल्ला प्रहरी कार्यालय गोरखामा दिएको जाहेरीका आधारमा जिल्ला अदालत गोरखाको जरुरी पक्राउ पुर्जि लिएर उनलाई साँझ पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले बताएको छ । ‘हामीलाई दिउँसो जाहेरी आयो, त्यसलगत्तै अदालतको जरुरी पक्राउ पूर्जि लिएर हाम्रो विशेष टोलीले उहाँलाई जिल्ला ल्याएको छ’ एसपी गुरुङले भन्नुभयाे ‘भोली हामी उहाँलाई अदालतमा पेश गर्छौ ।’

तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडाध्यक्ष रानाभाटलाई जबरजस्ती करणी अन्तरगत मुद्धा चलाइने बताइएको छ । त्यस्तै सोमबार नै उनि आवद्ध जनता समाजवादी पार्टी पालुङटार नगर कमिटीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको छ ।

नगरका कार्यबहाक अध्यक्ष देवीमाया गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरी हिरासतमा रहेका रानाभाटको अनुसन्धानमा सहयोग पु¥याउन उनलाई सम्पूर्ण जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्