Tuesday, December 1

एसिडसम्बन्धी छुट्टै कानून ल्याउन संसदीय समितिको सरकारलाई निर्देंशन

August 3, 2020 54

काठमाडौं, १९ साउन । संसदको महिला तथा सामाजिक समितिले एसिडसम्बन्धी छुट्टै कानून ल्याउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको महिला तथा सामाजिक समितिको बैठकले एसिड पीडित महिलाहरुसँग छलफल गर्दै एसिडसम्बन्धी छुट्टै कानून ल्याउनुका साथै पीडितको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिएर उनीहरुको जीविकोपार्जनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । यस्तै, एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय कम भएको भन्दै समय सापेक्ष परिमार्जन गर्न निर्देशन छ ।

समितिमा एसिड पीडित संगीता थापामगर, मुस्कान खातुन र जेनी खड्काले परिवारको आर्थिक अभावले उपचारमा समस्या भइरहेको बताएका थिए । उनीहरूले एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुनको व्यवस्था अभावले गर्दा यस्ता घटना बढिरहेको भन्दै कानून बनाउन समेत सरकारलाई आग्रह गरेका थिए ।

गृह मन्त्रालयका अनुसार नेपालमा हालसम्म २० वटा एसिड आक्रमणका घटना भएका छन् । जसबाट १८ जना महिला र दुई जना पुरुष पीडित छन् । यस्तै, आजै महिला तथा सामाजिक समितिको बैठकले समेत सरकारलाई एसिड पीडितका सन्दर्भमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिकृया दिनुहोस्