Friday, March 5

अबको प्रधानमन्त्री देउवा: बाबुराम भट्टराई

January 15, 2021 57

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्।

शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत रिङआउट भइसकेकोले कांग्रेसको हातमा सत्ता जाने बताएका हुन्।

‘प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरे। अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ। उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड-नेपालसमेत प्रधानमन्त्री पदका लागि लायक छैनन्। अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ उनले भने।

नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए। चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईको भनाइ थियो।

प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले विश्वास गरेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेका थिए।

यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

प्रतिकृया दिनुहोस्