टेलिभिजन कार्यक्रममार्फत् भारतले सगरमाथामा दावी पेश गर्नुपर्ने विवादित अभिव्यक्ति दिएका भारतीय पत्रकार सुधीर चौधरी सरकारकै लगानीमा हेलिकोप्टरबाट सगरमाथा क्षेत्र घुमेको पाइएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नयाँ दिल्लीबाट काठमाडौ आइपुगेका चौधरी प्रधानमन्त्री ओलीसँग अन्तर्वार्तामा लिनुअघि कालापत्थर पुगेका थिए ।
कालापत्थरमै खिचेको भिडियो प्रयोग गरेर चौधरीले नेपालको सगरमाथामा भारतले दावी पेश गर्नुपर्ने धारणासहितको कार्यक्रम तयार पारेका हुन् ।
नेपालको राष्ट्रिय स्वाधिनतामा आँच पुग्नेगरी कार्यक्रम तयार पार्ने विवादित पत्रकार चौधरीलाई सगरमाथासम्म लैजाने खर्च भने नेपाल सरकारले व्यहोरेको भेटिएको हो ।
एयरलाइन्स कम्पनी स्रोतले नै सरकारी निकायबाट उनीहरुको भ्रमण खर्च व्यहोरिने प्रष्ट्याएको हो ।
तर सरकारको कुन निकायले के शीर्षकमा भुक्तानी गरेको हो भन्ने खुलेको छैन ।
पत्रकार चौधरी सिम्रिक एयरको ‘माउन्टेन फ्लाइट’ को प्याकेजमा कालापत्थर पुगेका हुन् ।
चौधरी सहितका तीन जना भारतीय नागरिक पुस २६ गते आइतबार विहान ९ : १० बजे त्रिभुवन विमानस्थलबाट सगरमाथाको आधार शिविर कालापत्थर उडेका थिए ।
उनीहरूले कालापत्थरमा २० मिनेट बिताए ।
उनीहरुले सिम्रिक एयरको 9A – AJZ हेलीकप्टर प्रयोग गरेका थिए । ।
विवादित पत्रकार चौधरीको करिब ५ घण्टाको हेलिकप्टर भ्रमणका लागि नेपाल सरकारले ३२०० अमेरिकी डलर खर्च गरेको स्रोतले जनाएको छ । आफ्नो अन्तरवार्ता अघि पत्रकार चौधरीलाई खुशी पार्न बालुवाटारको पहलमा हेलिकप्टर खर्च राज्यले व्यहोरेको हो ।
‘उहाँहरुको खर्च सरकारले व्यहोरेको हो, कम्पनीको नियमित प्रक्रियाबाट बिल भुक्तानी भएको होइन, सिम्रिक एयर स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिनुअघि चौधरीलाई खुशी पार्न सरकारले चौधरीलाई सगरमाथा घुमाउन लगेको हो ।
प्रतिकृया दिनुहोस्