Tuesday, January 26

हिमालपारि मनाङ जलिरहेछ वारि राजनीतिको बाँसुरी बजिरहेछ

January 13, 2021 78

हिमालपारिको जिल्ला मनाङमा मंसिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–२ थानचोकको वनबाट आगलागी शुरु भएको थियो । स्थानीयले बारम्बार अनुनयविनय गर्दा पनि आगलागी नियन्त्रणमा हिमालवारिका शासकले रुचि देखाएनन् ।
काठमाडौंबाट मनाङको यात्रामा निस्केको पत्रकारको टोली आगलागीस्थलमा पुग्दा स्थानीय नागरिक सम्बन्धित निकायको आँखा खोलिदिन हारगुहार गर्दै थिए । ‘तन जलेको छ, मन जलेको छ अनि घरसँगैको वन जलेको छ।’

नासो गाउँपालिका–८ ताचैका स्थानीय यज्ञ घलेले पीडा पोख्नुभयो । दिनभरि ताचैका स्थानीय आफै आगलागी नियन्त्रणमा खटिएका छन् । विकट हिमाली भूभाग, स्रोतसाधनको अभाव अनि प्रशासनको बेवास्ताका कारण लागलागी नियन्त्रणमा कुनै ठोस पहल नभएको उहाँको भनाइ थियो ।

त्यस्तै ताचैका सामुदायिक व्यवस्थापन समिति प्रमुख याद घलेले आफैले सीडीओ तथा सुरक्षाका चारवटै निकायलाई लागलागी नियन्त्रणमा कदम चाल्न अनुरोध गरेको बताउनुभयो । मनाङबाट सरुवा भएर जानलागेका प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफूहरुको कुनै कुरा नसुनेको घलेले आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले यहाँका जनप्रतिनिधिले यत्रो संकटको बेलामा पनि कुनै चिन्ता–चासो नदेखाएको बताउनुभयो । चुनावका बेलामा मात्र गाउँ आउने अरु बेला काठमाडौंमै बस्ने नेताहरुले गाउँमा ध्यान नदिएको उहाँको भनाइ थियो ।
एक हप्ताअघि मात्र मनाङ आएका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सोमबारदेखि आगलागी नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित भएको जनाउँदै आगलागी भएको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
‘हाम्रो प्रयत्न जारी छ, हामी नियन्त्रणको प्रयास गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘मानवले गर्न सक्नेजति गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ, अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।

त्यसै गरी आगलागीबाट केकति क्षति भयो, यकिन गर्न नसकिने बताउँदै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीले जैविक विविधतामा गम्भीर असर पु¥याउने बताउनुभयो ।
‘हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ।’ –गौतमले भन्नुभयो ।

आगलागीले कस्तूरी मृगदेखि हिमचितुवासम्मको बासस्थान खोसिएको छ भने पाँचऔंले, चिराइतो, जटामसी, निरमसी, यार्सागुम्बाजस्ता अमूल्य जडीबुटी नष्ट भएका छन् ।
आगलागीको कारण अहिलेसम्म यकिन भएको छैन । तर पनि हिमाली क्षेत्रमा कस्तूरी, थार, घोरल आदिको चोरीशिकारी गर्न र आगामी वर्ष राम्रोसँग गुच्चीच्याउ टिप्न पाइने आशामा पनि स्वार्थी तŒवले आगलागी गराएको हुनसक्ने स्थानीय नरजंग घले बताउनुहुन्छ । निगालोको झाडीमा आगो लगाउँदा नयाँ घाँस पलाउने भएकाले स्थानीय गोठालाहरुले आगो लगाएको हुनसक्ने पनि उहाँले बताउनुभयो ।

नयाँ सीडीओ लामिछाने आएपछि दैनिकरुपमा स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोली आगलागी नियन्त्रणमा खटेको छ । चामे गाउँपालिका–२ थानचोकबाट शुरु भएको आगलागीले हाल नासो गाउँपालिका–८ ताचै आइपुग्दा ७ सय हेक्टरभन्दा बढी जंगल सखाप पारिसकेको छ ।

प्रतिकृया दिनुहोस्