Sunday, April 11

तराईका जिल्लाहरु शीतलहरको मारमा : उदयपुरमा प्रहरी दाउरा बाँड्दै, पर्सामा जनजीवन कष्टकर

January 13, 2021 110

वीरगन्ज (पर्सा), २९ पुष । विगत एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सुसँगै बढेको शीतलहरीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

विहानदेखि बाक्लो हुस्सु लागेर टुसारो (शीतलहरी)पर्न थालेपछि यहाँका जनजीवन कष्टकर बन्दै गएको हो । हुस्सुका साथै चिसो शीतलहरी चलि टुसारो खस्ने गरेकोले विशेगा गरी बालबालिका, वृद्ध–वृद्धाहरु तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु प्रभावित बनेका छन् ।

बाक्लो हुस्सु लागेर शीतलहरी पर्न थालेपछि वीरगन्जको तापक्रम घटेर ८ डिग्री सेल्सियस सम्ममा झरेको छ, जसले गर्दा यस भेगका सर्वसाधारणहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।

निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सावाला, मजदुरहरू समेत प्रभावित भएका छन् ।

यस वर्ष जाडो अलि ढिलो आएपनि शीतलहरी भने विगतकै समयमा देखिएको छ । जाडोले गर्दा मानिसलाई मात्रै नभई गाईबस्तु, बाख्रा लगायत घरपालुवा जनावरलाई पनि निकै अप्ठ्यारो भएको छ ।

जाडो बढेको कारण घरको कामदेखि लिएर ग्रामीण भेगका सर्वसाधारण किसानहरुलाई खेतमा काम गर्न समेत कठिनाई भएको छ । पुष महिनाको दोश्रो हप्तादेखि नै शितलहरी पर्न थगालेपछि खेतबालीमा लगाईएको रविअन्न (दाल र तेल)का लागि उपयुक्त भएपनि सर्वसाधारणको दैनिक जीवन यापनमा भने कष्टकर बनेको छ ।

चिसोले गर्दा सर्वसाधारणहरु आफ्नो दैनिकी कार्य भन्दा पनि दिनभरि आगो तापेर बस्ने गरेका छन् ।

उदयपुरमा शीतलहरबाट बचाउन आगो बाल्दै प्रहरी:
उदयपुर, २९ पुष । जनताको जनधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी यतिबेला आगो बाल्न व्यस्त छ । ईलाका प्रहरी कार्यालय कटारीले विभिन्न ठाउमा पुगेर दाउरा पु¥याएर आगो बालिरहेको छ ।

दुई दिनदेखि चिसो बढेर जनजीवन प्रभावित भएसंगै प्रहरीले डिभिजनल वन कार्यालय त्रिवेणी कटारीको सहकार्यमा ठाउँ–ठाउँमा आगो बालेर सामूहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कटारी–५ सुकुम्बासी टोल कटारी ३ को बसपार्क कटारी ४ को मुशहर बस्ती कटारी ४ को सिम्लेलगायत विभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुको लागि आगो ताप्ने व्यवस्था मिलाइएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुति गराउन ईलाका प्रहरी कार्यालय कटारीले आफू मातहत प्रहरी चौकीलाई स्थानीय चोक तथा ग्रामीण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको डीएसपी भण्डारीले जानकारी दिए ।

यहाँका बिभिन्न स्थानहरुमा काठका मुढा तथा दाउराहरु बालिएको छ । केही दिनदेखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शीतलहर बढेसँगै आवतजावतमा समस्या भएको छ ।

हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् ।

चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन अनुरोध गर्दै प्रहरीले मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको हो ।

प्रतिकृया दिनुहोस्