Saturday, January 16

कोरोना महामारीपछि मलेसियामा संकटकाल

January 13, 2021 38

विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रणका लागि भनेर मलेसियामा संकटकाल लगाइएको छ ।

त्यहाँका राजा अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेका हुन् । यो संकटकाल कम्तीमा पनि ६ महिना रहने जनाइएको छ । कोरोना नियन्त्रण भएको खण्डमा भने अवस्था हेरेर त्यसअघि नै संकटकाल खुकुलो बनाउने सम्भावना पनि रहेको समाचार संस्था अलजजिराले जनाएको छ ।

प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकाल लगाएर मलेसियाको संसद निलम्बन गरेका छन् । मलेसियाको कानुन अनुसार संकटकाल लागू भएपछि संसद स्वतः निलम्बन हुन्छ । मलेसियामा संकटकाल लागू भएमा सरकार सञ्चालनको सबै अधिकार प्रधानमन्त्रीमा जाने व्यवस्था छ ।

यासिनले गएको अक्टोबरमा संकटकाल लगाउन सिफारिस गरे पनि त्यसबेला राजाले अस्वीकार गरेका थिए । विपक्षीहरुले शासन सञ्चालनमा आफूले गरेको कमजोरी लुकाउन प्रधानमन्त्रीले कोरोनाको बहाना बनाएर संकटकाल लगाएको भन्दै असन्तुष्टि जनाएको खबरहरु सार्वजनिक भएका छन् ।

मलेसियामा अहिलेसम्म एक लाख ४१ हजार पाँच सय ३३ जनामा कोरोना सङ्क्रमण भएकोमा पाँच सय ५९ जनाको ज्यान गइसकेको छ । मलेसियामा यस अघि सन् १९६९ मा साम्प्रादायिक हिंसा भड्किएपछि संकटकाल लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्