Tuesday, January 26

भीम आचार्यको काउन्टर : मुख्यमन्त्रीसहित आठ सांसद् निलम्बन

January 11, 2021 27

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । ओली समूहका मुख्यमन्त्री राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

एक साताअघि ओली समूहका मुख्यमन्त्री राईले प्रचण्ड–माधव समूहका नेता भीम आचार्यसहित १६ जनालाई निलम्बन गरेका थिए । काउन्टरस्वरुप आठ जनालाई स्पष्टीकरण सोधेको प्रचण्ड–माधव समूहले आइतबार निलम्बन गरेको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको निलम्बन गरेको जानकारी आइतबार प्रदेशसभा सचिलायमा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेपछि पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हितविपरीत काम गरेको भन्दै ८ जनालाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिकृया दिनुहोस्