Sunday, December 6

प्रदेश २ मा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि, धनुषा जिल्ला प्रहरी कार्यालयको ब्यारेक सिल

August 3, 2020 72

धनुषा, १९ साउन । प्रदेश २ मा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश २ को धनुषा, महोत्तरी, पर्सा, सिरहा र सप्तरी गरी १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ १३८ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ ।

आइतबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत एकजना सईसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका नेपाल प्रहरीका ती सई जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेकमा बस्दै आइरहेका थिए । संक्रमण पुष्टि भएपछि सई बस्दै आइरहेका धनुषा जिल्ला प्रहरी कार्यालयको ब्यारेक सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले प्रदेश प्रहरी कार्यालयमा कार्यरत एकजना सईमा कोरोना पोजिटिभ पुष्टि भएको बताए । संक्रमण पुष्टि भएपछि ब्यारेकमा उनी बस्ने कोठा सिल गरिएको कार्कीले जानकारी दिए ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका १, ७ र १० का ५ महिला तथा दुई पुरुषसहित ७ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै जनकपुरस्थित रामा होटेलका ६० वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।

आइबार पर्सामा मात्रै ७८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको वीरगंज महानगरपालिकामा ६८, ठोरी गाउँपालिका निर्मलबस्तीमा १, सखुवा प्रसौनी गाउँपालिकामा ३, ड्राइपोर्ट वीरगंजका ५ र पाँचजना नेपाली सेनामा संक्रमण पुष्टि भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विजयकुमार यादवले जनाएका छन् ।
यता सिरहाको बरियारपट्टी गाउँपालिकाका ३ जनाम संक्रमण पुष्टि भएको छ। सप्तरीको राजविराज नगरपालिकाका १८, हनुमानगर कंकालिनी नगरपालिकाका ४, तिरहुत गाउँपालिकाका १ र तिलाठी कोइलाडी गाउँपालिकाका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्