Friday, June 18

बाइडेनको शपथमा हिंसाको खतरा, अमेरिकाको विश्वविद्यालय र अपार्टमेन्टमा गोली प्रहार गरी तीनको हत्या

January 11, 2021 85

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकामा पुनः हिंसाको घटना गराउनसक्ने खतरा रहेको जनाएको छ ।

नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी २० जनवरीमा शपथ ग्रहण गर्दै छन् । बाइडेनको शपथका समयमा हिंसाको खतरा रहेको दाबी गरिएको छ । यसअघि गत बुधबार ट्रम्पका समर्थकले संसदभित्र प्रवेश गरेर तोडफोड र आक्रमण गरेका थिए । संसदमा भएको हमलामा एक प्रहरी अधिकारीसहित पाँच जनाले ज्यान गुमाएको बताइएको छ ।

यो हमला बाइडेनलाई रोक्ने योजनाका साथ भएको बताइएको छ । यसअघि नै संसदमा हमला भएको विषयलाई जोड्दै अमेरिकी अधिकारीले बाइडेनको शपथ नजिकिँदै गएको र त्यस बेला थप हिंसा हुनसक्ने बताएका छन् । अमेरिकी अधिकारीले शपथमा हिंसाको खतरा रहेको औंल्याउँदै यस विषयमा नयाँ खुलासा गरेका हुन् ।

अमेरिकी सुरक्षा अधिकारीलाई बाइडेनको शपथ ग्रहण समारोहमा पनि अमेरिकामा हिंसा फैलने हो कि भन्ने डर छ । वासिङ्टन, जर्जिया, कन्सास, ओहियो, मिशिगत, क्यालिफोर्निया, कोलोराडो, उटाह, न्यू मेक्सिको, व्योमिंग र टेक्सासजस्ता राज्यमा पनि निगरानी बढाइएको छ ।

सीएनएनको एक रिपोर्ट अनुसार बिहिबार संसद भवन अर्थात् क्यापिटल हिलभन्दा केही टाढा एउटा सानो पिकअप ट्रक राखिएको थियो । यसको खोजी गर्दा ११ घरेलु बम र केही हतियार बरामद गरिएको थियो । ट्रकका मालिक अल्बामामा बस्छन् । उनलाई पक्राउ गरिसकिएको छ । ट्रकबाट घरमा नै बनाइएका ११ वटा बम, एउटा असल्ट राइफल र एउटा ह्यान्डगन जफत गरिएको छ । यस्तो बेला प्रहरीको भूमिकामाथि सबैभन्दा बढी प्रश्न उठिरहेका छन् ।

रिपोर्टका अनुसार सभामुख नेन्सी पेलोसी यी व्यक्तिको निशानामा थिइन् । यो हतियार ट्रम्प समर्थक प्रदर्शनकारीसमक्ष पुर्याइने योजना रहेको र ट्रकलाई यसैकारण क्यापिट हिल नजिकै पार्क गरिएको रिपोर्टमा उल्लेख छ । यो विषय हाल अनुसन्धानको दायरामा छ । संसदमा हमला भएपछि बम र हतियार फेला पर्न थाल्नुलाई बाइडेनको शपथमा हिंसा मच्चाउने योजनाका रुपमा लिइएको छ ।

बुधबार हिंसा मच्चाएकामध्ये ११ जनामाथि कारबाही चलाइएको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको छ । आक्रमणकारीले मट्टीतेल पनि ल्याएका कारण संसदमा हमला गरेपछि आगजनी गर्ने योजना रहेको जनाइएको छ ।

यसैबीच अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् । घटनामा चार जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षीय एक छात्रको टाउकोमा गोली प्रहार गरेपछि एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्डमाथि गोली प्रहार गरेका हुन् ।

सोही अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका ती व्यक्तिले एक पसलमा प्रवेश गरी गोली प्रहार गर्दा २० वर्षका एक व्यक्तिको मृत्यु भएको छ । त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।

अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको गोली हानी हत्या गरेको ती ब्यक्तिको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ । अमेरिकामा संसदमा भएको हमलापछिको यो ठूलो घटना हो । ती व्यक्तिका बारेमा अमेरिकी प्रहरीले अनुसन्धान थालेका छन् । उनले कुन उदेश्यले यस्तो घटना गराए भन्ने खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्