Thursday, December 3

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि, आइतबारसम्म ३९ हजारभन्दा बढी सङ्क्रमित

August 2, 2020 66

एजेन्सी, १८ साउन । जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।
जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भएपनि दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।
जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्याङ्कले देखाउँछ तर पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ ।

सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्