बेजोसलाई उछिन्दै एलन मस्क बने संसारकै धनी

January 8, 2021 130

एजेन्सी, २४ पुष । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् ।

एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ । टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धिका कारण यस्तो भएको हो ।
इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेजनका मालिक जेफ बेजोसलाई दोस्रो स्थानमा धकेलिदिएका छन् । ब्लूमबर्गको तर्फबाट जारी गरिएको अर्बपतिको सूचीमा ५ सय बढी अर्बपति समावेश छन् । बेजोस सन् पछिल्लो पटक सन् २०१७ मा संसारकै धनी व्यक्ति बनेका थिए ।

यो उपलब्धि हाँसिल गरेपछि मस्कले आफ्नो शैलीमा प्रतिक्रिया दिएका छन् । एक ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै उनले टिप्पणी गरे, ‘कति अचम्मका कुरा ।’

संसारका लागि सन् २०२० जस्तोसुकै रहेपनि एलन मस्कका लागि पछिल्लो १२ महिना निकै शानदार रह्यो । लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका छन् ।

दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियरलाई टेस्लाको सेयरमा बलियो विश्वास थियो र उनलाई यसैले फाइदा पुर्यायो । यसबाहेक मस्कसँग स्पेस एक्सको ठूलो हिस्सेदारी छ जुन लगभग १४ बिलियन अमेरिकी डलर छ । यता जेफ बेजोसको सम्बन्धविच्छेदका कारण पनि मस्क शीर्ष स्थानमा पर्न सकेका हुन् ।

यदि बेजोसको सम्बन्धविच्छेद नभएको भए उनलाई यो सूचीबाट हटाउन निकै गाह्रो हुने थियो । सम्बन्धविच्छेद पछि बेजोसकी पूर्व श्रीमतीको पनि उक्त सम्पत्तिमा हक रह्यो । सम्पत्ति बाँडफाँट भएपछि उनले अत्यधिक दान पनि गरेकी छिन् । उनले गत वर्ष नोभेम्बरमा ६८ करोड डलरको सेयर दान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्