Tuesday, January 26

दुर्घटनामा तीन जनाको मृत्यु

January 6, 2021 27

झापा र उदयपुरमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १ –०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६०९८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङ र इटहरी उपमहानगरपालिका–५ की २८ वर्षीया सलिजा राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मंगलबार दिउँसो ४ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।

बस र चालक मोरङको कानपोखरी गाउँपालिका– ७ का २७ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै उदयपुरको रौतामाई गाउँपालिका–१ तालथुकीमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रौतामाईको नामेटारतर्फ जाँदै गरेको प्रदेश २–०२–०१–००१ त १०१७ नम्बरको ट्याक्टर मंगलबार राति ८ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार चालक उदयपुरको त्रियुगा नगरपालिका–७ कालीखोलाका २० वर्षीय केशव विकको मृत्यु भएको हो । दुर्घटनामा रौतामाई–१ का ४८ वर्षीय कर्मध्वज तामाङ, २१ वर्षीय सन्तोष तामाङ, ३५ वर्षीया ज्ञानी तामाङ र १९ वर्षीया सीता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्