वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ३३ जनाको मृत्यु, वनमा काम गर्नेको पनि छैन बीमा

January 6, 2021 97

बर्दियामा केही दिन अघि मोटरसाईकलमा सवार एकजना महिलालाई बाघले थुतेर लगेको स्थान ‌वरिपरि अझैपनि बाघ डुलिरहेको भेटिएको छ । ति महिला र उनको छोरा सवार मोटरसाईकलमा बाघले आक्रमण गरेको स्थल कुवा एरियामा अहिले पनि बाघ समूहमा डुलिरहेको भेटेको बर्दिया राष्ट्रिय निकुन्जका सूचना अधिकारी असिम थापाले जानकारी दिएका छन। बाघको बारे विस्तृत जानकारी लिन त्यहाँ क्यामरा जडान गरी ट्र्यापिङ गर्ने कार्य भैरहेको पनि उनले स्पष्ट पारे।

गत शुक्रबार पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुन्जको कुवा भन्ने स्थानमा बाघको आक्रमणमा परी एकजना महिलाको मृत्यू भएको थियो। कैलालीको लम्कीचुहा नगरपालिका वडानं ४ निवासी आमा छोरा निकुन्जमै पर्ने राजमार्गको बाटो हुदै कैलालीतर्फ जानेक्रममा राती साढे आठ बजे बाघको आक्रमणमा परेका थिए। ५० वर्षीय आमा नन्दकला थापालाई बाघले थुतेर जंगलमा लगेको थियो। भोलिपल्ट आमाको लास करिब ५ सय मिटर पर क्षत विक्षत अवस्थामा भेटिएको थियो। छोरा सन्तोषकुमार थापा भने सामान्य घाईते भएका थिए। रातको समयमा वन्यजन्तुको गतिबिधि सकृय हुने भएकोले यो घटना भएको राष्ट्रिय निकुन्जतथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य आंकलन गर्दछन। यो घटनापछि बर्दिया राष्ट्रिय निकुन्जले निकुन्ज क्षेत्रभित्र पर्ने राजमार्गबाट राती ६ बजेदेखि बिहान ६ बजेसम्म पैदलयात्रीका साथै साईकलतथा मोटरसाईकलमा ओहरदोहर गर्न रोक लगाएको छ। अन्य समयमा पनि बसतथा गाडी अगाडि पछाडि लगाएर मोटरसाईकलहरुलाई पठाईने गरिएको छ।

यो आक्रमण बर्दियामा यो वर्ष पहिलो पटक भएको होईन। यस वर्ष बर्दियामा बाघको आक्रमणबाट ६ जना सर्वसाधारणको ज्यान गईसकेको छ जसमा निकुन्ज भित्र २ जनातथा निकुन्ज बाहिर ४ जनाको मृत्यू भएको थियो।

वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ३३ जनाको मृत्यू

नेपालका संरक्षित क्षेत्रहरुमा वर्षेनी जनघनत्व बढ्दै गएपछि मानवतथा वन्यजन्तुबीच बेलाबखत द्वन्द हुने गरेका छन जसबाट मानवीय क्षतिका साथै भौतिक सम्पति समेत नष्ट भइरहेको छ। मानवतथा वन्यजन्तुबीचको द्वन्द पछिल्ला वर्षहरुमा टडकारो समस्याको रुपमा देखा परेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले जनाएको छ। विभागका अनुसार आर्थिक वर्ष २०७६/७७मा वन्यजन्तुको आक्रमणबाट ३३ जनाको मृत्यू भएको थियो भने १ सय १० जना सख्त घाईते तथा ६७ जना सामान्य घाईते भएका थिए।

वन्यजन्तुबाट क्षति ब्यहोर्नेलाई के छ राहत ?

बर्दियामा ज्यान गुमाएकी नन्दकला थापाको परिवारलाई राहत उपलब्ध गराउन प्रकृया अघि बढिसकेको बर्दिया राष्ट्रिय निकुन्जले जनाएको छ। वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने ब्यक्तिको परिवारलाई १० लाख रुपैंया राहत स्वरुप प्रदान गरिने कानुनी ब्यबस्था रहेको छ। सरकारद्वारा आर्थिक वर्ष २०७६/७७ मा नेपालमा वन्यजन्तुबाट ज्यान गुमाउनेतथा क्षति ब्यहोर्नेहरुलाई राहत स्वरुप १० करोड ६६ लाख रुपैंया प्रदान गरिएको थियो।

वन्यजन्तुको मृत्यू पनि कहाली लाग्दो

आर्थिक वर्ष २०७६/७७ मा संरक्षित क्षेत्रमा विभिन्न कारणले मृत्यू हुने वन्यजन्तुको संख्या ३ सय ७३ छ। सो अवधिमा प्राकृतिक लगायत विभिन्न कारणले घाईते भएका ४ सय ३९ वटा वन्यजन्तुको उध्दार गरी पुनर्स्थापना गरिएको थियो।

वनमा काम गर्नेको बीमा छैन

संरक्षित बन क्षेत्रमा जोखिमयूक्त काम गरिरहेकाहरुको हालसम्म बीमाको ब्यबस्था हुन सकेको छैन। यस्ता कर्मचारीहरु २४ घण्टानै खटिनु पर्ने अवस्था रहेको छ। ड्यूटीमा रहेको अवस्थामा कुनै पनि वन्यजन्तुको आक्रमणमा परेर मृत्यू भएमा तथा जंगलमा ड्यूटी रहँदा कुनै रोग ब्याधि लागेमा उपचार गर्न हाल ब्यबस्था रहेको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ मा समावेश गरी राहत सुविधा उपलब्ध गराउन पहल गरिने विभागले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुन्ज बिगत केही वर्षदेखि बाघ हेर्न पाईने स्थानका रुपमा परिचित हुदैं गईरहेको थियो। वर्षेनी बर्दियामा बाघ हेर्न आउने स्वदेशीतथा पर्यटकहरुको संख्या बढदो क्रममा थियो। प्रतिष्ठित विदेशीहरुको गन्तव्यको रुपमा पनि बर्दियाको परिचय बनिरहेको थियो। अग्रेंजी चलचित्र टाईटिनिकका अभिनेता लियोनार्दो हिक्टोप्रिया बर्दियामा बाघै हेर्न आएका थिए। उनले त्यस बखत बाघको आक्रमणबाट एउटा आँखाको ज्योति गुमाएका भदई थारुलाई आफ्नो चश्मा उपहारका रुपमा दिएका थिए। हलिउडका अन्य कयौं कलाकार बर्दियामा आईसकेका छन। यहाँ कतिपय अन्तराष्ट्रिय निर्माताहरुले बाघ सम्बन्धि बृत्तचित्र समेत निर्माण गरिसकेका छन।

बर्दिया राष्ट्रिय निकुन्जको घोषणा २०४५ सालमा भएको थियो। यस निकुन्जका तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ। यहाँ बाघ, एक सिंगे गैंडा लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेका छन भने गोही जस्ता जलचरमा र ४ सय ३८ थरीका चरा पनि यहाँ पाइन्छन् ।

प्रतिकृया दिनुहोस्