Saturday, January 23

महाकालीमा भारतले तटबन्ध बनाउने काम राेक्न अटेर

January 5, 2021 20

दार्चुला, २१ पुस । दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै/भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ ।

अन्तर्राष्ट्रिय सन्धि/सम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा कूटनीतिक पत्र पठाएको थियो । परराष्ट्र स्रोतका अनुसार एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर विगतका सहमति उल्लंघन भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै भारत सरकारलाई पत्र पठाइएको छ । तर, भारतले पत्रको जवाफ नपठाएको स्रोत बताउँछ ।

परराष्ट्रले दूतावासलाई तटबन्ध निर्माण तत्काल रोक्ने गरी आवश्यक पहल गर्न भनेको छ । यसमा पनि ठोस उपलब्धि हासिल भएको छैन । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले महाकाली नदीसँग सम्बन्धित भारतीय निर्माणाधीन तटबन्धका विषयमा परराष्ट्रबाट केही पत्र आएको बताए ।

‘यस विषयमा स्थानीय प्रशासनबाट गृह हुँॅदै परराष्ट्रले केही पत्र पठाएको छ,’ आचार्यले सोमबार साँझ कान्तिपुरसँग भने, ‘थप विषय पत्र हेरेपछि मात्रै भनौंला ।’ आचार्यले नेपालबाट आएको पत्रको जवाफ भारतले दिए/नदिएकोबारे पनि बोल्न चाहेनन् । ‘यस विषयमा अहिले नै भन्न सक्दिनँ, पछिल्लो समय के–कस्तो विकास भएको छ, मैले बुझ्नुपर्ने हुन्छ,’ आचार्यले भने । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्