भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको अभाव भएको छ।वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भीटीएम’ को अभावले कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको जानकारी दिए।
वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भीटीएम’ किट नपठाएपछि स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको उनको भनाइ छ।यसअघि कार्यालयले ल्याएको किट भक्तपुर अस्पताल, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको तर अब किट दिन सक्ने अवस्थामा नभएको पनि प्रमुख मिजारले बताए।
कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिए।मध्यपुरथिमि नगरपालिकाले भने केही दिनअघि मात्रै ४० लाख मूल्य बराबरको ‘भीटीएम’ किट खरिद गरेको छ।
प्रतिकृया दिनुहोस्