Wednesday, November 25

हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो

September 24, 2020 100

हुम्ला, ८ असोज । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हाे ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो । अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो ।

लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीकाे नेतृत्वमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधिकाे टाेली सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको थियो । चिनियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए ।

करिब पाँच वर्षदेखि हराएकाे ११ नम्बर सीमास्तम्भ हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको लामाले जानकारी दिनुभयाे । सीमास्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने उहाँले बताउनुभयाे । सीमास्तम्भ भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने जानकारी दिनुभयाे ।

पिलर हराएको मौका छापी लिमीको लाप्चामा नेपाली भूमि अतिक्रमण गरी चिनियाँ पक्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिले दाबि गर्दै आएका छन् । सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको थियाे ।

प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले माग्यो स्पष्टिकरण

नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ दत्तराज हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको भन्दै गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सीमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन ।

घटनास्थलको बास्तविकता बाहिर नआउदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टिकरण सोधेको छ । प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

सहायक प्रजिअ हमालले सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्