Saturday, November 28

युभेन्टसको विजयी सुरुवात

September 21, 2020 34

एजेन्सी, ५ असाेज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा कुलुसेवस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई १-० को अग्रता दिलाएका हुन् । त्यस्तै ७८ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्दोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरे । उनले आरोन राम्सेको पासमा गोल गर्दै युभेन्टसलाई ३-० को सहज जित दिलाए ।

यस जितसँगै युभेन्टसले नयाँ सिजनको घरेलु लिगमा सुखद सुरुआत गरेको छ । युभेन्टसले अंक तालिकामा एक खेलबाट तीन अंक जोडेको छ । साम्पडोरिया पहिलो खेलमा नै पराजित हुन पुगेको छ ।

त्यस्तै गएराति नै भएका सिरि ए का अन्य खेलहरुमा जेनोवाले क्रोटोनलाई ४-१ ले पराजित गर्दा सास्वलोले र काग्लिअरीले १-१ को बराबरी खेले।

प्रतिकृया दिनुहोस्