Saturday, November 28

जनकपुरका पोखरी र तालमाथिको अतिक्रमण तीव्र, पवित्र नगरी अपवित्र बन्दै (भिडियो)

September 21, 2020 36

जनकपुरधाम, ५ असोज । सांस्कृतिक नगरी जनकपुरलाई पोखरी नै पोखरीको सहर भनिन्छ । यहाँका पोखरीसँग भगवान् राम र माता जानकीको महिमा जोडिएको छ । हरेक साँस्कृतिक पर्व र चाडमा यहाँका पोखरीमा स्नान गर्ने र जल चढाउने धार्मिक परम्परा छ । तर अहिले यस्ता पोखरी कुनै अतिक्रमणको चपेटमा परेको छन् कुनै फोहोरले कुरुप बनेका छन् ।

धनुषाको जनकपुर उप–महानगरपालिका ऐतिहासिक धार्मिक र पुरातात्विक विरासत बोकेको सांस्कृतिक नगरी हो । माता जानकीको जन्मभूमि जनकपुरको अर्को विशेषता हो, पोखरी । जनकपुरलाई पोखरी नै पोखरीको सहरको नामले समेत चिनिन्छ । धार्मिक आस्था, माता जानकी र भगवान रामसँग जोडिएका यस्ता पोखरी यति वेला भने संकटमा परेका छन् ।

जानकी मन्दिरको ठीक उत्तर छेउमै रहेको यो तेल्हा पोखरीको रामायणकालीन इतिहास छ । तर अहिले यो पोखरी फोहोरको डङ्गुरले कुरुप बनेको छ ।

यस्ता पोखरीको संरक्षणको जिम्मा गुठी संस्थानको हो । तर, गुठी संस्थान कार्यालय जनकपुर शाखाले संरक्षणमा ध्यान दिएको देखिँदैन । कतिपय पोखरी अतिक्रमणको चपेटमा परेका छन् भने कतिपय कुरुप बनेका छन् । हिन्दूहरुको हरेक धार्मिक पर्वमा यस्ता पोखरीमा स्नान गर्ने र चल चढाउने परम्परा छ । तर, पोखरी भने अतित्वकै संकटमा छन् । उपमहानगरपालिकाले संरक्षणका लागि काम आगडि बढाएको बताउँने गरे पनि हालसम्म काम अघि बढेको छैन ।

जनकपुरमा अवस्थित राम सागर, तेल्हा मड़हा, चरण पादुका सर, पुरनदर सर, जानकी सरोवर लगायत दर्जनौँ पोखरी अहिले अतिक्रमणसँगै फोहोर र प्रदुषित बनिरहेका छन् । कतिपय पोखरी त भूमाफियाले पुरेर घर समेत निर्माण गरेका छन् । यस्ता पोखरी संरक्षणको आवाज उठेपछि वडा कार्यालयले ठेक्का लागाएर संरक्षण र सौन्दर्यकरण गर्ने सोच बनाएको छ ।

जनकपुरमा रहेका एक सय भन्दा बढी पोखरीमध्ये ७२ वटा पोखरी गुठी संस्थाको स्वामित्वमा रहेका छन् । अन्य पोखरी पनि मन्दिर र कुटीको नाममा रहेका छन् । यस्ता पोखरीलाई संरक्षण र सौन्दर्यकरण गर्ने हो भने धार्मिक पर्यटकलाई समेत थप आकर्षित गर्न र सांस्कृतिक नगरी जनकपुरको शोभा बढाउन मद्दत पुग्ने छ ।

भिडियाे

प्रतिकृया दिनुहोस्