Tuesday, December 1

साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ : प्रधानमन्त्री ओली

September 8, 2020 79

काठमाडौँ, २३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको बताउनुभएकाे छ । उहाँले निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो भन्दै प्रधानमन्त्री ओलीले हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेको दाबी गर्नुभयाे ।

‘हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि: शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा भनिउकाे छ, ‘यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ । यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।’

साक्षर तथा साक्षरोत्तर कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै उहाँले सामुदायिक अध्ययन केन्द्रहरुको परिचालनबाट टोल-टोलसम्म यी कार्यक्रमहरु पुर्याउन सम्भव भएको बताउनुभएकाे छ । उहाँले यसअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको जनाउँदै यसलाई प्रभावकारी बनाउन सम्बद्ध सबै तहहरुलाई आह्वान समेत गर्नुभयाे ।

यतिबेला विश्वजगत कोभिड– १९ को महामारी सामना गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पुर्याएको क्षतिबाट माथि उठ्ने चुनौति रहेकाे अाैँल्याउनुभयाे । ‘दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नु पर्नेछ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य उनुरुप साक्षर नेपालको अभियान अगाडी बढाइरहेका छौं,’ उहाँले भन्नुभयाे, ‘निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मुख्य लक्ष्य हो । हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं ।’

प्रतिकृया दिनुहोस्