Wednesday, November 25

ठूला सडक आयोजनामा चर्चा मात्र बढी

September 8, 2020 94

काठमाडौँ, २३ भदौ । ०६५र६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन ।

जब कि यो आयोजनामा संघीय सरकारकै सबैजसो अधिकारीदेखि सरोकारवाला निकायको अत्यधिक चासो, अनुगमन, निगरानी र प्राथमिकतासाथ बजेट विनियोजन हुने गरेको छ । तर पनि आयोजनाको प्रगति लक्ष्यअनुसार छैन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहे पनि अन्य ठूला सडक आयोजनाको उदाहरण यस्तै छ । निर्माणले गति लिनुको सट्टा झमेलामा परेका छन् ।

हुलाकी राजमार्ग आयोजना सुरुमा भारत र नेपाल सरकारबाट संयुक्त रूपमा सञ्चालित थियो । भारतबाट निर्माण व्यवसायी र परामर्शदाता आएर काम भयो । तर भारतीय निर्माण व्यवसायीले बीचमै काम छाडेपछि यसको स्वरूप परिवर्तन गरियो । नयाँ तरिकाबाट अघि बढ्दा भारतले ५ अर्ब भारतीय रुपैयाँ ९नेपाली ८ अर्ब रुपैयाँ० हुलाकी राजमार्गलाई नियमित गर्ने भनिएको थियो ।

भारतीय सहयोगमा निर्माणाधीन १० वटा सडकको १४ वटा ठेक्का गरिएको आयोजनाका प्रमुख रोहित बिसुरालले जानकारी दिए । ८ वटा ठेक्काको काम सकिएको छ । निर्माण सकिएका सडक हस्तान्तरण गर्न बाँकी छ । हुलाकी राजमार्गअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग पर्छ ।

सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर १ हजार ७ सय ९२ किमि रहेको यो राजमार्ग निर्माण सक्ने मिति ०७९र८० सम्म मात्र छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या लाभान्वित हुनेछन् । प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रहेकामा संशोधित लागत ६५ अर्ब २० करोड छ ।

अर्को आशा जगाउने सडक हो, काठमाडौं–तराई मधेस द्रुतमार्ग । यो सडक सञ्चालनमा आए एकडेढ घण्टामै काठमाडौंबाट बारा पुगिनेछ । तर निर्माणमा आधा पनि प्रगति नभएकाले अझै केही वर्ष यो मार्ग हुँदै यात्रा गर्न पर्खनुपर्नेछ । यो द्रुतमार्ग निर्माण सक्ने लक्ष्य हो, आर्थिक वर्ष ०८०र८१ । तर अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ ।

मुख्य सुरुङ र पुल निर्माणको काम सुरु भएको छैन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुन कठिन छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट निर्माण थालिएको द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । १ खर्ब ७५ अर्ब लागत रहेको यो द्रुतमार्गमा अझै पहाड कटिङ र माटो फिलिङको काम सकिएको छैन ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नमै ढिला भयो । समय धेरै भएकाले तोकिएकै समयमा काम सक्ने गरी निर्माण भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन् ।

परामर्शदाताले भनेअनुसार काम गर्न सके तोकिएकै समयमा आयोजना सक्न समस्या छैन । तोकिएकै समयमा काम सक्नेमा आफू विश्वस्त रहेको उनको दाबी छ । पहाड कटिङ र माटो फिलिङको काम ४ किलोमिटर बाँकी छ ।

१ दशमलव ५ किमि ०७७ माघ र थप २ दशमलव ५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुअब्जा नपाएपछि उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । विवाद अझै सुल्झिएको छैन ।

आयोजना निर्माणको काम सञ्चालन गर्न सेनाले विभिन्न १० ठाउँमा क्याम्प राखेको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम जारी छ । आयोजनाका अनुसार महादेवडाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमिको सुरुङ निर्माण हुनेछ ।

चर्चामै रहेको सडक हो, मदन भण्डारी लोकमार्ग । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण थालिएको लोकमार्गअन्तर्गत अहिले धरान–चतरा–सिन्धुली–हैटौंडा खण्डको काम मात्र अघि बढेको छ । अन्य खण्डमा कतै सर्भे नै भएको छैन, कतै निर्माण सुरु भएको छैन । झापाको बाहुनडाँगीबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल जोड्ने यो सडकको कुल दूरी १ हजार २ सय ५० किमि छ । यो मार्गबाट तराईका जिल्ला नछोई काठमाडौं जान सकिने मदन भण्डारी लोकमार्ग निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले जानकारी दिए ।

पश्चिम खण्डमा सर्भेको काम सुरु गर्न बाँकी छ । धरान–चतरा–हेटौंडा खण्डमा सबैभन्दा पहिला टेन्डर भएको हो । यो खण्डमा कालोपत्रको काम चालु आर्थिक वर्षमा सकिने उनको दाबी छ । धरान–झापा खण्डमा पुलको ठेक्का भएको छ । चालु आवमै सडकको पनि ठेक्का लाग्ने उनको भनाइ छ । पश्चिमतर्फ बोटेचौर सुर्खेत र अन्य केही खण्डको ठेक्का गर्ने प्रयास भइरहेको उनले बतए । ‘१ हजार २ सय ५० मध्ये ७ सय ७० किमि जति हामी हेर्छौं,’ उनले भने, ‘त्यसबाहेक अन्य खण्ड सडक विभागकै आयोजनाले हेरिरहेका छन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्