Saturday, November 28

उपत्यकाका सीडीओको राय- ‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

September 7, 2020 95

काठमाडौं, २२ भदाै । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भिœयाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भित्र्याउनुपरिरहेको छ, नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन । विभिन्न ढुवानीका साधनमार्फत मानिस आवतजावत भइराखेका छन्, त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखियो,’ बैठकमा धारणा राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

उनले काठमाडौंका लागि आवश्यक पर्ने ग्याँस, खाद्यान्नलगायतका सामान बाहिरबाट आउने हुँदा नाका ठप्प पार्न नसकिएको स्विकार गरे । दाहालले डीडीएमसीबाट सेना परिचालनबारे निर्णय गरेर पठाइएको तर सीसीएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि भन्दै गुनासोसमेत गरे ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले चाडपर्वको समयमा मानिसको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए । याे खबर राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्