Saturday, November 28

बेलायती कम्पनीकाे खोप अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा, ३० हजार व्यक्तिमा लगाइने

September 2, 2020 112

एजेन्सी, १७ भदाै । बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ ।

अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएकाे यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै ३० हजार नागरिकमा परीक्षण अनुमति दिइसकेकाे छ । यसअघि अमेरिकामै मोडर्ना र फाइजर/बायोएनटेक खाेप तेस्रो चरणको परीक्षणमा गइसकेकाे सिएनएनले जनाएकाे छ ।

समाचार संस्था सिएनएनका अनुसार एस्ट्राजेनिकाले अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट करिब ३० हजार व्यक्तिमा तेस्रो चरणको खाेप परीक्षण गर्न लागेकाे छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखिमको खतरा भएका व्यक्तिलाई ४ हप्ताकाे अन्तरालमा दुइ डोज दिइने जनाइएकाे छ ।

हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पनि भइरहेको छ । साथै जापान र रुसमा पनि यसको परीक्षण थाल्ने बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्