Friday, November 27

सुनसरीमा अढाई महिने बालिका सहित २९ जनामा कोरोना पुष्टि

August 25, 2020 136

इनरुवा, ९ भदौ । सुनसरीमा आज अढाई महिने बालिका सहित २९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । प्राप्त पछिल्लो रिपोर्ट अनुसार इनरुवाबाट स्वाब संकलन गरिएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी नगरपालिका मार्फत स्वाब संकलन गरिएका मध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएका मध्ये पोजेटिभ रिपोर्ट आएका सबै जिल्ला प्रहरी कार्यालय इनरुवा मार्फत कोरोना परीक्षण गराइएकाहरु रहेको स्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार उनीहरुको घरको ठेगाना भने फरक फरक रहेको छ । कार्यालयका अनुसार प्रहरीबाट स्वाब संकलन गरी परीक्षण गरिएकाहरु मध्ये धेरैजसो थुनुवा रहेको बताइएको छ ।

त्यसैगरी इनरुवा नगरपालिकाको वडा नम्बर ६ बाट स्वाब संकलन गरिएका मध्ये रिपोर्ट आउन बाँकी रहेका ९ जना मध्ये आज ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा वडा नम्बर ६ का दुई जना परेका छन् । एकजना भने वडा नम्बर ५ का रहेका छन् । वडा नम्बर ५ का पोजेटिभ पाइएका व्यक्ति पुरुष हुन् । मधेशामा एक महिला र अढाई महिने बालिकामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवका अनुसार मधेशा ६ बाट स्वाब संकलन गरिएका अझै ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै आज सुनसरीमा कोरोना पोजेटिभ पाइएका अन्यमा इटहरीका ५ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्