Saturday, November 28

कोरोना संक्रमित नर्स भन्छिन्– ‘प्लीज, हाम्रो परिवारलाई हेला नगर्नुस्’

August 20, 2020 262

काठमाडौँ — नेपालमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ३० हजार हाराहारी पुगेको छ । फ्रन्टलाइनमा खटिएर बिरामीहरुको सेवामा खटिएका स्वास्थ्यकर्मी पनि उच्च जोखिममा छन् । उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको देखिन्छ । भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत २७ वर्षीया नर्स रन्जिता थापामा पनि कोरोना संक्रमण देखियो । कोरोना अनुभव र भोगाइ उनले कान्तिपुरकी बुनु थारुसँग यसरी साटेकी छिन् :

म यस अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत छु । यस अस्पतालमा काम गर्न थालेको १ वर्ष पुग्न लाग्यो । हाम्रो अस्पतालमा क्यान्सरका बिरामीहरु बढी आउने गरेका छन् । मैले बढी सर्जिकल विभागमा काम गर्ने गर्छु । चैतदेखि नै हामी निरन्तर खटिएका छौं । सम्भवतः लगातार ४८ घन्टा पनि काम गरेको याद छ । छुट्टी त विरलै लिइयो होला ।

यसैबीच हाम्रो अस्पतालमा एक जना बिरामीलाई कोरोना संक्रमण देखियो । त्यसपछि एक्सपोज भएका स्टाफहरुले पीसीआर गराउने कुरा भयो । म त्यो बिरामीसँग एक्सपोज नभएका कारण त्यति बेला पीसीआर गराइन । तर, अर्को बिरामीलाई पोजिटिभ देखिएपछि हामीले पनि पीसीआर गराउने कुरा भयो । मेरो अगस्ट १८ मा रिपोर्ट आयो । रिपोर्ट पोजिटिभ आयो । हालसम्म हाम्रो अस्पतालमा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको छ ।

म संक्रमित परिवारलाई मानसिक तनाव
घरको माथिल्लो तलामा मेरो छुट्टै कोठा छ । कोरोना सुरु भएदेखि म घरमा त्यति बस्दिनँ । राति गएर आफ्नो कोठामा सुत्ने मात्रै हो । बिहान पनि छिटो काममा गइहाल्छु । अस्पतालमा विभिन्न बिरामी हेर्नुपर्दा शंका त लाग्थ्यो । कहिलेकाहीँ त रिपोर्ट नेगेटिभ आउँछ जस्तो पनि लाग्थ्यो । तर, आज कोरोना संक्रमण देखिएको ३ दिन भयो । ममा गम्भीर लक्षण त्यस्तो छैन हल्का सुख्खा खोकीमात्रै छ । म मेरै अस्पतालको आइसोलेसनमा बसिरहेकी छु ।

यद्यपि अन्य विभिन्न कारणले गर्दा यो ३ दिन एकदम तनावपूर्ण रह्यो ।

परिवारमा विशेषगरी बाबाले सधैं छोरी तँलाई कोरोना लाग्छ जागिर छोड्दे भनेर दबाब दिनुहुन्थ्यो । जहिल्यै यही विषयमा झगडा पनि पर्थ्यो । कहिले केही दिनका लागि बोलचालसमेत पनि बन्द हुन्थ्यो । यस्तो बेला जागिर छोडपछि नर्सिङ लाइसेन्स खारेज गर्दिन्छ पनि भन्दिन्थें । तर, बाबाले पत्याउनुहुन्थेन । ‘पढेकै जनताको सेवा गर्नका लागि हो, कसरी छोड्न सक्छु ?’ भनेर बेलाबेला सम्झाउँथे । म घरकी ठूली पनि हुँ, त्यसैले पनि परिवारको मसँग धेरै अपेक्षा छ ।

मलाई कोरोना संक्रमण देखिएपछि छिमेकीको व्यवहार पुरै परिवर्तन भएको छ । यो समयमा मान्छे चिनियो जस्तो लागेको छ । म १०–१५ दिनदेखि घर नै गएको छैन । तर, छरछिमेक तथा समाजले मेरो परिवारलाई धेरै नै ‘मेन्टल टर्चर’ दियो । त्यसले मलाई निकै दुखित बनाएको छ । घरी घर वरिपरी डोरी टाँग भन्ने, कहिले पोस्टर किन नटाँसेको भनेर दुःख दिइरहेका छन् । म संक्रमित भएको थाह पाएपछि भोलिपल्ट घरमा पुलिस पनि पठाएछन् । उनीहरुले मिलेर वडा कार्यालयबाट फोन गर्न लगाउने गरेका रहेछन् । मेरो परिवार संक्रमित नै भएका छैनन् । तैपनि किन यस्तो ?

यत्तिकै त कोरोना सरिहाल्दैन । हप्ता दस दिनमा उहाँहरुको परीक्षण गराउँछु भन्ने सोचेकी छु । डोरी टाँग्दैमा, पोस्टर टाँस्दैमा कोरोना भाग्ने हो र ?

कोरोनाले समाज कति असहयोगी, कति मानवताहीन बनाएको छ अहिले देख्न र भोग्न पाएँ ।
म नर्स हो भनेर वरिपरीका सबैलाई थाह छ । छरछिमेकमा मैले आफूले जानेको कामको सक्दो सहयोग गर्छु । तर, अहिले यस्तो बेला मेरो परिवारलाई कस्तो छ ? के सहयोग चाहियो भनेर कसैले एक वचन पनि सोधेनन् । सोध्दैमा कोरोना सर्छ र ? अहिले त वाक्क भएर बाबाले आफैं डोरी टाँगिदिनुभएको छ घरमा ।

कोरोना संक्रमित र उसको परिवारलाई घृणा नगर्नुस्
यति मानसिक तनाव भोगिरहँदा मेरो परिवारले बेकारमा छोरीलाई नर्स पढाएछु भनेर सोच्नुहुन्छ होला । तर, यो मेरो सानैदेखिको लक्ष्य अनि रोजेको पेसा हो । जे भए पनि म पेसा छोड्न सक्दिनँ । कोरोना संक्रमण भइरहँदा पनि यो पेसाप्रति उत्तिकै प्रेम र सम्मान छ ।

मैले र मेरो परिवारले समाजबाट भोग्नु परेको प्रताडना अरुहरुको पनि होला । म सबैलाई आग्रह गर्न चाहन्छु– ‘कोरोना संक्रमितलाई घृणा नगरिदिनुस् ।’

कोरोना जसलाई, जहाँबाट पनि लाग्न सक्छ । अस्पतालबाट मात्रै संक्रमण हुन्छ भन्ने धेरैको बुझाइ छ । त्यही सोचेर उनीहरु स्वास्थ्यकर्मीलाई छि–छि, दुर–दुर गर्छन् । तर, त्यो सही सोच होइन । बाबा मम्मीले चिन्ता नलेउ भन्नुहुन्छ । घरभित्रै बस्छौं, जे छ त्यही खान्छौं भनेर सम्झाउनुहुन्छ । तैपनि नराम्रो त लागिहाल्छ नि !

केवल पैसाको लागि काम गर्ने पेसा होइन हाम्रो । कोरोना एकदम पिकमा पुगेको बेलामा पनि हामी स्वास्थ्यकर्मीहरु अस्पताल जान छाडेका छैनौं । कोरोना संक्रमित तथा उसको परिवारलाई हामी स्वास्थ्यकर्मीले जसरी सेवा गरिरहेका छौं अप्ठेरो पर्दा हामीले पनि समाजबाट त्यही अपेक्षा राख्छौं । त्यसैले सबै संक्रमितलाई सकिन्छ भने सहयोग गरौं तर भेदभाव नगरौं ।

हामी स्वास्थ्यकर्मी जहिले पनि अरुलाई सहयोग गर्न तयारी अवस्थामै हुन्छौं । भोलि कसैलाई सन्चोबिसन्चो परे जाने अस्पतालमै हो । अनि यहाँ उपचार गर्ने हामी जस्तो स्वास्थ्यकर्मीले नै हो । त्यसैले यस्तो विषम परिस्थितिमा घरपरिवार केही नभनी खटिएका हाम्रो परिवारलाई तपाईंहरुले सहयोग गर्नुभयो भने हामी थप उत्साहका साथ काममा खटिन सक्छौं ।

प्रतिकृया दिनुहोस्