Tuesday, December 1

सरकारविरुद्ध प्रवासी नेपालीको आक्रोश- अब हुन्डीबाट पैसा पठाउँछौं !

August 20, 2020 271

४ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट आएका २०१ यात्रुलाई टर्किस एयरलाइन्सबाट नेपाल आउन दियो ।

त्यसलगत्तै दुबईमा प्रवासी नेपालीको समाजिक सञ्जालका ग्रुपतिर सन्देश फैलियो, ‘सरकारले नेपाली कामदारको उद्धारमा चरम बेवास्ता गर्‍यो, अब सरकारलाई असहयोग गरौं, रेमिट्यान्सबाट हैन, हुन्डीमार्फत पैसा पठाऔं ।’

सरकारले सोमबार नै होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै विदेशबाट भइरहेको चार्टर्ड उडान रोकेलगत्तै यस्ता सन्देशहरु छिटपुटरुपमा फैलिन थालेको थियो । सोही दिनदेखि दिनमा २ सय जना श्रमिकलाई सरकारी खर्चमा उद्धार गर्न सुरु गर्ने भनिएको थियो ।

मंगलबार दुबईमा पुगेको विमान पनि खाली फर्किएपछि भने ‘हुन्डी गरौं’ भन्ने अभियानमा श्रमिकहरुको समर्थन बढ्दै गएको छ । श्रमिकलाई आएका सन्देशहरुमा मनी ट्रान्फरमार्फत पठाउँदा भन्दा ३/४ रुपैयाँ बढी पैसा आफन्तको हातमै पुग्ने उल्लेख छ ।
यो सन्देश दुबईमा बस्ने नेपालीमाझ डढेलोजस्तै फैलिएको छ । अहिले दुबईमा रहेका धेरै नेपालीले सामाजिक सञ्जालमा खुलारुपमै हुन्डीमार्फत पैसा पठाउन आग्रह गरिरहेका छन् ।

सरकारविरुद्धको रोष

हुन्डीमार्फत पैसाको कारोबार गर्नु अवैधानिक हुन्छ । सरकारले लामो समयदेखि हुन्डीको प्रयोगलाई कम गर्न भनेर मनी ट्रान्सफर सेवालाई बढावा दिँदै आएको छ । विगतमा भन्दा हुन्डीको प्रयोग कम हुँदै गएको पनि छ ।

तर, सरकारले विदशेमा अलपत्र नेपाली कामदारको उद्धारलाई बेवास्ता गरेपछि विदेशमा रहने नेपालीमाझ हुन्डी प्रवर्द्धन हुने जोखिम बढेको छ । दुबईमा ‘हुन्डीमार्फत पैसा पठाएर सरकारलाई असहयोग गर्ने’ बहकाउ अभियान छेडिएको छ ।

यो स्वतःस्फुर्तरुपमा अघि बढेको हो वा हुन्डीका कारोबारीले श्रमिकलाई बहकाएर लाभ लिन खोजेको हो भन्ने स्पष्ट नभएको यूएईमा कार्यरत श्रमिकले बताए ।

‘ग्रुपहरुमा हाम्रै साथीहरु पनि लेखिरहनुभएको छ, समाजिक सञ्जालमा जताततै सरकारले हेरेन, अब घाटा खाएर सरकारलाई किन रेमटि्यान्स पठाउने? भन्नेखालका पोस्ट देखिएका छन्,’उनले भने,’यो अवैध हो भन्ने जान्दाजान्दै पनि सरकारलाई सबक सिकाउन रेमिट्यान्सको वैधानिक आप्रवाह रोक्नुपर्छ भनेर भड्काउन खोजिएको छ ।’

विदेशमा बसेका हजारौं कामदारको भावनामा सरकारले ठेस पुर्‍याएको मौका बनाएर हुन्डीलाई फेरि प्रवर्द्धन गर्न खोजिएको आशंका उनलाई छ ।

अर्थतन्त्रलाई हानीको जोखिम

रेमिट्यान्स सीधै सरकारको खातामा आउने रकम हैन । विदेशमा रहेका नेपालीले आफ्नो आफन्तलाई बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत पठाउने रकम विदेशी मुद्राको सटही दरअनुसार नेपालमा भुक्तानी गरिन्छ ।

त्यसरी पैसा पठाउँदा तोकिएको शुल्क भने लाग्छ । रेमिट्यान्स शुल्क भने महंगो छ । यसले गर्दा धेरैले रकम धेरै पाइलो लोभमा हुन्डी रोज्छन् । हुन्डीका कारोबारीले रेमिट्यान्स कम्पनीको भन्दा राम्रो विनिमय दरमा नेपालमा रकम भुक्तानी गर्ने लोभ देखाएर कारोबार गराउन प्रोत्साहित गर्ने गरेका छन् ।

वैदेशिक हुण्डीका कारण बाह्य मुलुकबाट देशमा आउनुपर्ने जति परिमाणमा विदेशी मुऽा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा अभिलेखको रुपमा पनि देखिँदैन । विप्रेषण खाता घाटामा रहन्छ ।

अर्कातिर देशबाट गैरकानूनीरुपमा राष्ट्रिय सम्पत्ति वा पूँजी पलायन भएर विदेश जान्छ । कतिपय अवस्थामा यही विदेश गएको रकम वैदेशिक लगानीको रुपमा फेरि अर्को बाटोबाट नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम पनि बन्न सक्छ ।

लकडाउनपछि एजेन्टहरु सक्रिय हुन नपाएकाले प्रक्षेपित भन्दा कम दरमा रेमिट्यान्स घटेको अनुमान गरिँदै आएको छ । जेठ महिनासम्म नेपालमा गत वर्षको भन्दा ३ प्रतिशत मात्रै रेमिट्यान्स घटेको छ । जबकि सरकारले महामारीपछि रेमिट्यान्स आगमन १८ प्रतिशतसम्म घट्ने अनुमान गरेको थियो ।

प्रतिकृया दिनुहोस्