Tuesday, December 1

संक्रमित हुँदा मैले ठूलो अपराध गरेजस्तो गरियो’

August 14, 2020 166

म कोभिड १९ संक्रमण भएर गएको ५ दिनदेखि होम आइसोलेसनमा छु। मेरी श्रीमती पनि आइसोलेसनमा घरमै छिन्। म चितवन रत्ननगर अस्पतालको मेडिकल सुपरिडेन्डेन्ट हुँ। श्रीमती भरतपुर अस्पतालमा काम गर्छिन्। हामी यो कोभिड १९ को महामारीमा अस्पतालमा खटिइरहेका थियौं।

अकस्मात् मलाई कोभिड पोजेटिभ भयो। मलाई कहाँबाट कोरोना सर्‍यो भन्ने थाहा छैन । अस्पतालमा र्‍यान्डमली स्वाब झिक्ने बेलामा ल्याबका स्टाफले ‘सरको पनि झिकौं न’ भनेपछि मैले स्वाब दिएको थिएँ । अस्पतालमा कोही संक्रमित नभेटिएकाले पनि मलाई संक्रमण हुन्छ भन्ने लागेको थिएन । बिरामी हेर्दा पनि सुरक्षा सतर्कता अपनाएकै थिएँ ।

केही दिनअघि सैलुनमा कपाल काट्न गएको थिएँ, त्यहाँबाट सर्‍यो कि जस्तो पनि लाग्छ तर यकिनका साथ भन्न सक्दिन ।

म धेरै हिँडडुल गर्ने र जमातमा बस्न मन पराउने मान्छे होइन । अस्पताल र घरबाहेक अन्त जाने भनेको घर अगाडिका २ वटा पसल हुन् । त्यसबाहेक म अन्त हिँडेको छैन । मलाई कोभिड १९ को कुनै लक्षण छैन । श्रीमतीको अवस्था पनि सामान्य छ। छोरो घरमा छुट्टै बसेको छ ।

हामीले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर घरमा बस्दा पनि भित्रैबाट ढोका लगाएर बसेका छौं । फोन गरेर पसलमा सामान अर्डर गर्छौं । उनीहरूले सामान गेटमा राखेर गएपछि लिन जान्छौं । हामी गेटसम्मबाहेक अन्त निस्केका छैनौं । हाम्रो तर्फबाट केही र कुनै लापरवाही भएको छैन । हामी हाम्रो र अरूको स्वास्थ्यप्रति सचेत छौं ।

हामीलाई कोरोना भाइरसले खासै दु:ख दिएन भन्दा पनि हुन्छ । लक्षण र स्वास्थ्यमा समस्या नदेखिएकाले नै हामी होम आइसोलेसनमा बसेका हौं । तर यही समाजका मानिसहरूले दु:ख दिए, मन दुखाए । एकदमै अमानवीय व्यवहार देखाए । संक्रमित हुँदा ठूलो अपराध गरेजस्तो नानाथरीको टर्चर दिए ।

आज बिहान एक हुल मानिसहरू मेरो घरमा आएर कोरोना संक्रमित भएको घर लेखेको ब्यानर टाग्न लागे । उनीहरूको यो हर्कत देखेर भाउन्न भयो । उनीहरू दश/पन्ध्र जनाको समूहमा वडाध्यक्ष हरि आचार्य पनि थिए। टोल सुधार समितिका मानिसहरू थिए । त्यो हुलमा कसैलाई संक्रमण भए अरूलाई सर्ने डर हुन्थ्यो । हामी गेट बन्द गरेर घरमा बसेको मानिसबाट अरूलाई के खतरा ? हाम्रो घर कसैसँग जोडिएको छैन। कम्पाउण्ड बेरेको घर हो । दोस्रो तलामा हामी बस्छौं । पहिलो तला खाली नै छ। हामीबाट कसैलाई खतरा नै छैन ।

ब्यानर टाग्न आउनेहरूलाई मैले यही कुरा विनम्र भएर भनेँ । तर ‘अरूलाई सचेत बनाउनुपर्छ’ भनेर टाग्न लागेको जवाफ आयो । केही समय हामीबीच वादविवाद भयो।उहाँहरूको मानसिकता बुझेपछि मैले ‘ल टाग्नुस्, भित्तैभरि टाग्नुस्’ भने। तपाईंहरू बिरामी भयो भने उपचार कसले गर्छ ? प्राय: सबै डाक्टरहरू संक्रमणको जोखिममा छन् भनेर कुरा बुझाउन खोजेँ।’अब तपाईंहरू बिरामी हुनुभयो भने उपचार नै नगर्ने हो, अस्पताल नै नजाने हो त ?’ भनेर सोधेपछि उहाँहरू चुप हुनुभयो।

उहाँहरूको मानसिकताले मलाई त केही समस्या छैन । हामी डाक्टर हौं, हामी हाम्रो अवस्था बुझ्छौं । अरूलाई सम्झाउन पनि सक्छौं । आफ्नै घर भएकाले अरूसँग सम्पर्कमा आइएला भन्ने डर पनि छैन ।

तर अहिलेको अवस्थामा सबै संक्रमितलाई अस्पतालमा राख्न सम्भव छैन । सरकारले नै बैडको अभाव भएको भन्दै लक्षण नभएका मानिसलाई होम आइसोलेसनमा राख्नु भनेको छ। हाम्रो समाजको मानसिकता यही हो । कसरी होम आइसोलेसन सम्भव होला ? घर नभएकाहरू कोठामा बस्नेहरू, होम आइसोलेसनमा बस्नुपर्‍यो भने के-के भोग्नुपर्ला ? यस्ता व्यवहारले निम्त्याउने दुर्घटना के होला ? मानसिक समस्याले कस्तो रूप लेला ? आम मानिसलाई यस्तो पर्‍यो भने त कोभिडले होइन समाजको डरले नै मानिस मर्छ होला ?

पछिल्लो समय संक्रमितहरूमाथि भएका यस्ता घटनाहरू सुनिरहेको छु । होम आइसोलेसनमा छुट्टै बस्दा कसैलाई सर्दैन भन्ने चेतना नभएको जस्तो महसुस भएको छ। संक्रमितलाई गरिने समाजको यस्तो व्यवहारले पछि ठूलो दुर्घटना होला भन्ने लागेको छ।

फ्लेक्स टाग्ने काम गर्न हिँड्नेहरू आफैँले सुरक्षा सतर्कता नअपनाएको देखिन्छ। उनीहरूले बरु टोलटोलमा सम्भावित संक्रमितलाई कोरोना परीक्षण गर्न सघाउनुपर्ने हो । जनचेतना फैलाउनुपर्ने हो। संक्रमितलाई हौसला दिनुपर्ने हो । तर गर्नुपर्ने काम नगरेर उहाँहरू अनेक गर्दै हिँड्नुहुन्छ जसको असर संक्रमितलाई परिरहेको हुन्छ। यो विषयमा राज्यले ध्यान देओस् किनकि मजस्ता अरू धेरै संक्रमितहरू होम आइसोलेसनमा बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्