Saturday, December 5

कोरोनाविरुद्धको रुसी भ्याक्सिन : प्रभाकारिता र सुरक्षालाई लिएर विज्ञहरु सशंकित

August 14, 2020 180

काठमाडौं, ३० साउन । रुसले विश्वमै सबै भन्दा पहिले कोरोना भ्याक्सिन बजारमा ल्याउने तयारी गरिरहेको छ । तर, रुसले चाँडै नै बजारमा ल्याउँदै गरेको उक्त कोरोना भ्याक्सिनको प्रभावकारिता र सुरक्षालाई लिएर विशेषज्ञहरुले शंका ब्यक्त गरिरहेका छन् ।

उक्त रुसी भ्याक्सिनको ट्रायल २ महिना भन्दा पनि कम समयमा गरिएको र मानिसको लागि सुरक्षित घोषणा गर्नु हतार हुने त होइन ? भन्दै विशेषज्ञाहरुले आशंका व्यक्त गरिरहेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार मात्रै कोभिड–१९ को पहिलो भ्याक्सिन तयार भएको घोषणा गरेका थिए । त्यस्तै, राष्ट्रपति पुटिनले उक्त भ्याक्सिनले सबै आवश्यक परीक्षणहरु पार गर्दै कोरोना भाइरसविरुद्ध इम्युनिटी दिन सफल साबित भएको पनि बताइसकेका छन् ।

रुसले यस भ्याक्सिनको नाम सोभियत संघद्वारा लञ्च गरिएको विश्वकै पहिलो उपग्रहको याद गर्दै ‘स्पुतनिक वी’ राखेको छ । तर, हालसम्म यस भ्याक्सिनले तेस्रो चरणको ट्रायल भने पूरा गरेको छैन, जुन चाँहि हजारौं सहभागीहरुको उपस्थितिमा टेस्टिङ गरिनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमै दुई सय भन्दा बढी प्रतियोगीहरु छन्, जसले कोरोना भ्याक्सिन तयार गर्ने दाबी गरेका छन् । जसमध्ये पनि २४ प्रतियोगीहरुले आफ्नो भ्याक्सिनलाई मानिसमा ट्रायल गरिरहेका छन् ।

कोरोना भ्याक्सिनको ट्रायल कति आवश्यक छ ?

नयाँ भ्याक्सिन पास हुनका लागि सामान्यतय तीन चरणको ट्रायल पूरा गर्नुपर्ने हुन्छ । पहिलो चरणमा थोरै व्यक्तिमा भ्याक्सिनको ट्रायल हुन्छ, जहाँ भ्याक्सिनको सीमित डोज दिइन्छ ।

दोस्रो चरणमा मानिसहरुको केही संख्या बढाइन्छ र भ्याक्सिनको इम्युन रेस्पोन्स पत्ता लगाइन्छ । त्यस्तै, दोस्रो चरणमै भ्याक्सिनको साइड इफेक्ट के कस्तो छ भनेर पनि पत्ता लागइन्छ ।

तेस्रो अर्थात् सबै भन्दा ठूलो चरणमा भ्याक्सिनको संक्रमित व्यक्तिमा प्रभावशाली के कस्तो छ भनेर जाँच गरिन्छ । उक्त तीन चरण सबै भन्दा महत्वपूर्ण चरणहरु हुन् । इम्युनिटीमा भ्याक्सिनको रेस्पोन्स दोस्रो चरणमै देखायो भने तेस्रो चरणको ट्रायल जरुरी ठानिन्छ ।

एक वेबसाइटका अनुसार रुसी अनुसन्धानकर्ताहरुले पहिलो र दोस्रो चरणको ट्रायक अगष्टको सुरुवातमै पूरा गरेका थिए । उक्त भ्याक्सिनको रेस्पोन्स उत्कृष्ट भएको दाबी गरिएको छ । उक्त भ्याक्सिनको नकारात्मक असर नभेटिएको दाबी गरिएको छ । तर, सोधकर्ताहरुले यस बारे कुनै पनि डिटेल्स रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

त्यस्तै, उक्त वेबसाइटमा तेस्रो चरणको ट्रायल ब्राजिल, म्याक्सिको, साउदी अरब र संयुक्त अरब इमिरेट्समा गरिने दाबी गरिएको छ । यसबाट पनि थाहा हुन्छ कि रुसले बनाएको उक्त भ्याक्सिनको तेस्रो चरणको ट्रायल पूरा गरेको छैन ।

वैज्ञानिकहरुले पहिलो र दोस्रो चरणको रिपोर्ट सार्वजनिक नगरिकन दाबी गर्नु मानिसका लागि सुरक्षित नहुने दाबी गर्दै आएका छन् । त्यस्तै, तेस्रो चरणको ट्रायल नगरी भ्याक्सिनले काम गर्छ भनेर दाबी गर्नु पनि ठीक नभएको बैज्ञानिकहरुको भनाइ छ ।

रुसको भ्याक्सिनलाई लिएर केही देशहरुले हतार भएको बताइरहेका छन्, भने केही देशहरु भने रुसको भ्याक्सिनलाई लिएर निकै उत्साहित छन् । यता विश्व स्वास्थ्य संगठनले भने रुसी भ्याक्सिनको क्लिनिकल ट्रायलको समीक्षा गर्नुपर्ने बताइरहेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस्