Friday, November 27

क्वारेन्टाइनमा रेडक्रसको सहयोग

August 14, 2020 200

दाङ, ३० साउन । दाङका विद्यालयमा सञ्चालन गरिएका क्वारेन्टाइनका लागि नेपाल रेडक्रस सोसाइटी, यूनिसेफ र तुलसीपुर उप-महानगरपालिकाको सहकार्यमा खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सहयोग गरेको छ ।

क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुका लागि खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाइजर, सफा पिउने पानीको फिल्टर (पियुरीफायर) र शाैचालयको मर्मतका लागि ३ वटा विद्यालयमा आर्थिक सहयोग गरेको छ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा २ लाख ५० हजार बराबरको खानेपानीका लागि बोरिङबाट मोटर जडान गरी सञ्चालन गर्न सहयोग गरेको साथै खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाइजर, हाइजिन किट आदि सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी कोभिड–१९ कार्यक्रमका प्रदेश नम्बर ५ का कार्यक्रम अधिकृत विश्राम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माध्यामिक विद्यालय कालाखोला पर्सेनीमा महिला शाैचालय मर्मत, खानेपानी ट्यांकी मर्मत गरिँदैछ । क्वारेन्टाइनमा बसेका महिलाहरुले प्रयोग गर्ने उद्देश्यले बनाउन लागिएको शाैचालय कोरोना भाइरस संक्रमणको अवस्था सामान्य भई विद्यालय सञ्चालन भएमा छात्र-छात्राहरुले नै प्रयोग गर्ने प्रधानाध्यापक राजीव ओझाले बताउनुभयो ।

२ लाख ३३ हजार रुपैयामा शाैचालय र पिउने पानीको धारा जडान भइरहेको छ । उक्त विद्यालयमा ७४३ जना विद्यार्थीमध्ये छात्राको संख्या साँढे ४ सय रहेकाे छ ।

जनता संस्कृत विद्यालय बिजौरीमा प्रतिघण्टा १ सय लिटर सफा पिउने पानीको फिल्टर (पियुरीफायर) जडान गरिएको विद्यालयका शिक्षक टीकाराम पौडेलले बताउनुभयो । २ लाख ३६ हजार मूल्यको २ हजार लिटरको टंयाकीमा उक्त मेसिन जडान गरिएको हाे । विद्यालयमा ५ सय ५० जना छात्रा र ४ सय ५० जना छात्र रहेका छन् । यी तीनवटा विद्यालयमध्ये माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा सञ्चालन गरिएको क्वारेन्टाइनमा करिब ७० जनालाई राखिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताउनुभयो ।

मावि तुलसीपुर सेन्टर बजार क्षेत्रभित्रको क्वारेन्टाइन र सुविधा सम्पन्न भएकाले पनि व्यवस्थित ढंगले सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी हवल्दार गोपाल गौतमको नेतृत्वमा २ जना प्रहरी खटाएको छ । जेठ १० गतेदेखि यो क्वारेन्टाइनमा खटिएको प्रहरी हवल्दार गौतमले बताउनुभयो ।

क्वारेन्टाईन बजार छेउमा भएकाले पनि यहाँ बस्नेले विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाबाट सहयोग प्राप्त भइरहेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बताउँछन् । क्वारेन्टाइनका लागि संस्थागत सहयोग हुन्छ । सरकारी तथा नेपाल रेडक्रस लगायत अन्य गैरसरकारी संघ संस्थाहरुले सहयोग गर्ने गरेको उनीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्