Tuesday, December 1

कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुरियो, ६ जनाको मृत्यु (अपडेट)

August 14, 2020 98

कालिकोट, ३० साउन । कालिकोटको महावै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ जना बालबालिकाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बास्तोलाका अनुसार बिहीबार राति १२ बजे गएकाे पहिराेले वडा सदस्य राजबहादुर विष्टको घर पुरिएकाे थियाे ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उहाँका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको एसएसपी बास्तोलाले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिराेले विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय छाेरा प्रविन विष्ट, १८ वर्षीया छाेरी सबिना विष्ट र १५ वर्षीया छाेरी आशा विष्टकाे मृत्यु भएकाे छ ।

त्यस्तै डिलबहादुर विष्टका १९ वर्षीय छोरी शान्ती विष्ट र १० वर्षीया छाेरी रेखा विष्टको पनि मृत्यु भएकाे बास्तोलाले बतउानुभयो । स्थानीय बासिन्दा जनप्रतिनिधि र प्रहरीले घटना स्थलमा पुगेपछि मृतकको शव पहिरोबाट निकालिएको छ ।

पहिरोले पुरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिंह भिजनले बताउनुभयो । गएराति जिल्लाका बिभिन्न स्थानमा पहिरो गएको प्रारम्भिक जानकारी आएको छ । जिल्ला भरको विवरण लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्