Saturday, June 19

कोरोना बाट आज नेपालमा ३७ को मृत्यु, यो संगै प्रधानमन्त्री ओलीले पनि गरे यस्तो घोषणा

May 3, 2021 67

नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्। सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो। सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७,२११ सङ्क्रमित थपिएको जनाएको थियो।

सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाण्डू जिल्लामा २,९२२ जना थपिएका हुन्। त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जनामा पनि कोभिड-१९ पुष्टि भयो। अहिले उपत्यकामा कुल ३,७६६ जना सङ्क्रमित थपिएका हुन्।

त्यस्तै रूपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२ र कास्कीमा ३५५ जना सङ्क्रमित सोमवार थपिएका छन्। अहिले हाल १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्। सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १५६ जना नौ वर्षसम्मका, ४३९ जना १० देखि १९ वर्षका र ३,५५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल सङ्क्रमितमध्ये ० जना संस्थागत आइसोलेशनमा र तीमध्ये ५७८ जना आईसीयू एवम् १४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

अझ कडाइ गर्ने प्रमको सङ्केत

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको बताए।

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले भने, “एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ।”

“यसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङगले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ।” प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १,००० शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताए।

“वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाण्डू उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ,” उनले भने।

उनका अनुसार प्रदेश सरकारले पनि आफ्ना प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई गैरकोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन्।

प्रतिकृया दिनुहोस्