Wednesday, December 2

काठमाडौं महानगर वडा नम्बर १४ मा ३५ बढी संक्रमित फेला, १५ दिनका लागि पसल बन्द गरियो

August 13, 2020 573

काठमाडौं, २९ साउन । ३५ जना भन्दा बढीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ का अत्यावश्यक बाहेकका अन्य पसल र गतिविधिहरु १५ दिनका लागि बन्द गरिएका छन् ।

‘बुधबार साँझसम्ममा ३५ जनामा संक्रमण देखिएको छ र यस अवस्थालाई नियन्त्रणमा लिन नसके अझ स्थिति विग्रन सक्छ’ काठमाडौं महानगरपालिका वडा नम्बर १४ कि वडा सदस्य रश्मी खड्काले न्यूज २४ लाई भन्नुभयाे, ‘आजदेखि वडाले प्रचारात्मक र जनचेतनामुलक कार्यक्रम पनि थाल्दैछ । ’

वडाले आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष समेत निकालेको छ । उपत्यका नगरपालिका फोरम काठमाडौंको गत २६ गतेको निर्णय र काठमाडौं महानगरपालिकाको गत २७ गतेको परिपत्र अनुरुप संक्रमण समुदायमा फैलन नदिन वडा नम्बर १४ को अधिकांश पसल १५ दिनका लागि बन्द गरिएको वडा कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

केही दिन अघि क्यासेट पसलेमा देखिएको सक्रमण पछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । बुधबार साँझ मेडिकल पसल रहेकाे घरबेटीलाई पनि संक्रमण देखिएको र आज विहानमात्र वडा कार्यालय रहेको भवनमा नै संक्रमित फेला परेपछि वडाले कडा कदम चाल्ने निर्णय गरेको हो ।

आजदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कुलेश्वर , नयाँ वस्ती र भित्री भागका पसल तथा गतिविधिहरु बन्द गरिने वडा सदस्य खड्काले न्यूज २४ लाई बताउनुभयो ।

बन्दको क्रममा फलफूल तथा तरकारी व्यवसायीले विहान ५ बजेदेखि ९ बजेसम्म पसल सञ्चालन गर्न पाउनेछन भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसाय सामाजिक दूरी कायम गरेर दिनभर सञ्चालनमा आउन पाउने छन् । यसैगरी ठेलागाडालगायत फुटपाथ व्यवसाय १५ दिनसम्म पूर्णरुपमा बन्द रहनेछन्

प्रतिकृया दिनुहोस्