Tuesday, December 1

सचेत नबने कोरोनाको कहालीले काठमाडौंको कथा फरक कोर्न सक्ने (भिडियो)

August 13, 2020 120

काठमाडौं, २८ साउन । पछिल्लो दुई दिनको तथ्यांकले फेरि एकपटक काठमाडौं उपत्यकावासीलाई झस्काएको छ । कोरोना संक्रमितको बढ्दो संख्याले काठमाडौं उपत्यका अब सुरक्षित छैन भन्ने सन्देश दिदै गर्दा उपत्यकामा अझै पनि सुरक्षाका लागि संवेदन बनेको कुनै दृश्यहरु देख्न पाइएको छैन ।

झण्डै ५० लाख मानिसको बसोबास भएको विश्वास गरिन्छ काठमाडौं उपत्यकामा । र, देशभरका मात्र नभइ विदेशका लागि पनि काठमाडौंको खाल्डो आकर्षणको धरोहर पनि हो ।

भीडभाड र लापरवाही नै कोरोना संक्रमणको लागि उर्वर अवसर हुन् । यही दृश्यहरु काठमाडौं उपत्यकामा प्रशस्तै देख्न पाइन्छ । सचेतनाका लागि जतिसुकै शंख फुके पनि काठमाडौं उपत्यकामा कसैले सुन्न छाडेको झै महसुस गरिन थालिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परे । नेपालमा कोरोनाले प्रवेश गरेपछि यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।

यस अघि हिजो मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । बढ्दो यही ग्राफले पनि काठमाडौं उपत्यकालाई संक्रमणको जोखिमले ढाकिसकेको तथ्य प्रष्ट पार्छ ।

बुधबार सार्वजनिक भएको तथ्यांक जोड्दा काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार १ सय ७१ पुगेको छ । यस्तै ललितपुरमा १ सय ७९ र भक्तपुरमा १ सय ५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको कुल संख्या १ हजार ४ सय ५६ रहेको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने सीमानाकामा गरिएको भनिएको कडाईमा कमजोरीका धेरै धाँजाहरु देखिनु, संक्रमणको जोखिम बढेका तराईका बिभिन्न जिल्लाहरुसहित भारतबाट समेत सहजै मानिसहरु काठमाडौं आइपुग्नु नै संक्रमण बढ्नुको मुख्य कारण मानिएको छ ।

यस अलावा प्रहरी संगठन भित्र भएको बेमौसमी सरुवा, सरकारी कर्मचारीहरुको देशव्यापी अदलबदल र जमघट तथा भीडभाडमा कुनै रोक लगाउन नसक्नु काठमाडौं उपत्यकाका लागि मुख्य कमजोरी बन्न थालेका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा लाग्ने भीड, जोरविजोर प्रणाली लागू भएपछि चलेका कम सार्वजनिक सवारी साधनमा खचाखच यात्रुहरुको उपस्थिति संक्रमण फैलावटका लागि अवसर बन्दै गएको छ ।

कठोर पाइला नचाले काठमाडौंले कहालीको कथा कोर्न अब कुनै आइतबार पर्खनु नपर्ने पक्का छ ।

प्रतिकृया दिनुहोस्