Saturday, November 28

आज थप ६ कोरोना सङ्क्रमितको मृत्यु : ज्यान गुमाउनेको सङ्ख्या ८९ पुग्यो

August 12, 2020 228

काठमाण्डौ । बुधवार नेपालमा एकै दिन कोरोनाका कारण ज्यान गुमाउने संख्याले पनि रेकर्ड बनाएको छ । बुधवार एकै दिन कोरोनाका कराया ६ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । ज्यान गुमाउनेमा ललितपुरमा ३ तथा मोरङ, रुपन्देही र सप्तरीमा १, १ जना छन् ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक जना पूर्व मेयर समेत छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले राजधानीका अस्पतालमा ज्यान गुमाएकाको पुष्टि गरेका छन् । त्यस्तै पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उनमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा पनि एक जनाको कोरोनाकै कारण ज्यान गएको छ । उनका बारेमा विस्तृत विवरण आएको छैन ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिएका छन् ।

ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्