Saturday, November 28

प्रदेश २ मा राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार,आचरण विपरीत कार्य गर्नेलाई कारवाही

August 11, 2020 130

जनकपुरधाम, २७ साउन । प्रदेश २ मा आचरण विरुद्ध काम गरेका प्रहरी कारवाहीमा परेका छन् भने राम्रो काम गर्ने पुरस्कृत भएका छन् । आचरण विपरीत काम गरेको भन्दै प्रदेश २ मा विभिन्न तहका २ सय ७५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीको आचरण विरुद्ध काम गरेका प्रहरी कर्मचारीहरुलाई कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरज प्रताप सिंहले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ का विभिन्न कार्यालयमा कार्यरत रहेका प्रहरी प्रहरीको आचरण विरुद्ध काम गरेका २ सय ७५ जनालाई कारवाही गरिएको छ भने ९ सय ८५ जना जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले बताउनुभयो ।

प्रहरीको नैतिक आचरणको विपरीत काम गरेका, आर्थिक प्रलोभनमा तरस्करहरुलाई सघाएका, मादक पदार्थ सेवन गरेर डयुटी गरेका, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको प्रहरी कर्मचारीलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीको आचरण विरुद्ध काम गरेका कर्मचारीहरुलाई कारवाही गरेका छौ भने राम्रो काम गरेका प्रहरीहरुलाई प्रोत्साहित समेत गरिएको छ ।’

प्रदेश प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत् रहेको प्रहरी कारवाहीमा परेका छन् । सिरहामा ५६ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । त्यस्तै यहाँ १ सय २३ जना प्रहरीलाई पुरस्कृत समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ३५ जनालाई कारवाही गरिएको छ भने १ सय ४१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटमा ३०÷३० जनालाई कारवाही गरिएको छ भने धनुषामा १ सय २३ र रौतहटमा १ सय ५७ जनालाई पुरस्कृत गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत २८ लाई कारवाही र ५७ जनालाई पुरस्कृत गरिएको छ ।

सप्तरीमा २६ जना कारवाहीमा ३० जना पुरस्कृत भएका छन् । सर्लाहीमा २१ कारवाहीमा १३५ पुरस्कृत, बारामा १५ कारवाहीमा १ सय ५ पुुरस्कृत, महोत्तरीमा १३ कारवाहीमा ६८ पुरस्कृत, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा ८ लाई कारवाही ७ लाई पुरस्कृत, २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा ७ लाई कारवाही २४ लाई पुरस्कृत, २ नम्बर प्रदेश सशस्त्र प्रदेश प्रहरी गण जनकपुरका ६ जना कारवाहीमा परेका छन् भने २५ जनालाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कमी आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ८० जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो ।

प्रतिकृया दिनुहोस्